
कविता
शर्मिला कार्की ‘शरु’
अस्तित्वबोध
मभित्र
नालापानी र काङ्गडाको
अडिग शौर्य बाँचेको छ,
त्यही कारण
म गौरव गर्छु
अहंकार छोड्दै
दृढ अठोटमा
अन्धो जिद्दी त्यागेर
पशुपतिनाथदेखि सिमेभूमेसम्म
आशीर्वाद बोकेर
म निर्धक्क भन्छु
म मेचीदेखि कालापानीसम्म
अखण्ड नेपालको छोरी हुँ।
हामी त नदी हौं, झरना हौं,
जहाँ बगे पनि
अन्ततः एकै समुद्रमा मिसिन्छौं।
नारी–पुरुष,
हिमाल–पहाड–मधेश,
सबै हातेमालो गर्दै
स्वाधीनताको चौकमा उभिनु
मेरो कर्तव्य मात्र होइन
मेरो अन्तरात्माको उद्घोष हो ।
शिलोक, साकेला, द्यौडा र धाननाच,
लोसारदेखि मुहर्रमसम्म,
दौरा–सुरुवाल र धोती–कुर्थामा
सजिएर
सबै एकै भूगोलमा रमाउनु
मेरो सर्वस्व हो।
सूर्यचन्द्र अंकित झण्डातर्फ
वक्र दृष्टि परे पनि
हामी त्यो छल परास्त गर्नेछौं।
सगरमाथाको शान,
अन्नपूर्णको उचाइ
कुनै हालतमा घट्न दिनेछैनौं।
हामी स्वतन्त्र पंक्षी हौं
एकता, समुन्नति
र विश्वबन्धुत्वको
सन्देश बोकेर
टाढासम्म उडिरहने।
पर्वत,हाल पोखरा







