
कविता
हामी
आर. आर. चौलागाईं
हामी घरमा आगो लगाउँछौँ
अनि वास खोज्दै हिँड्छौँ
हामी खुकुरीमा धार लाउँछौँ
अनि शान्ति खोज्दै हिँड्छौँ
हामी बाटो भत्काउँछौँ
अनि गन्तव्य खोज्दै हिँड्छौँ
हामी बिरुवा उखेल्छौँ
अनि फूलबारी खोज्दै हिँड्छौँ
हामी माटो बेच्छौँ
अनि देश खोज्दै हिँड्छौँ ।
हामी युवाहरूलाई विदेश पठाउँछौँ
अनि दक्ष जनशक्ति खोज्दै हिँड्छौँ
हामी खेतबारीमा महल ठड्याउँछौँ
अनि खानेकुरा खोज्दै हिँड्छौँ
हामी वन जङ्गल सखाप पार्छौँ
अनि पानी खोज्दै हिँड्छौँ
हामी धोती र टोपी खोलेर फाल्छौँ
अनि इज्जत खोज्दै हिँड्छौँ
हामी पराईको खुट्टा मोल्छौँ
अनि स्वाभिमान खोज्दै हिँड्छौँ ।
हामी कलाकारलाई भोकै मार्छौँ
अनि रङ्गमञ्च खोज्दै हिँड्छौँ
हामी साहित्यकारको मानो खोस्छौँ
अनि उसको योगदान खोज्दै हिँड्छौँ
हामी कलङ्कित नेतालाई भोट हाल्छौँ
अनि सुशासन खोज्दै हिँड्छौँ
हामी झोलेहरूलाई काखी च्याप्छौँ
अनि असल कार्यकर्ता खोज्दै हिँड्छौँ
हामी जनतालाई रुवाउँछौँ
अनि समाजवाद खोज्दै हिँड्छौँ ।
हामी उद्योगधन्दा बन्द गर्छौँ
अनि बाहिरबाट सामान आयात गर्छौँ
हामी आफू आफूमा बाझ्छौँ
अनि झगडा मिलाउन विदेशीहरूलाई गुहार्छौँ
हामी नैतिक शिक्षा खारेज गर्छौँ
अनि मौलिक संस्कृति हरायो भनेर पीर गर्छौँ
हामी विस्तारवादी र साम्राज्यवादीहरूका अगाडि लम्पसार पर्छौँ
अनि आफूलाई बहादुर हौँ भनेर धाक लाउँछौँ
हामी गाई खाने भाषा अक्षर अक्षर मिलाउँछौँ
अनि नेपाली भाषा जस्तो लेखे पनि हुन्छ भन्छौँ ।
हाम्रो बुद्धि कहिल्यै पनि पलाएन
अनि हाम्रो चेत पनि कहिल्यै खुलेन ।
