
कथा
शशीश्री आचार्य
जङ्गलले राखेको हिसाब
गाउँको माथिल्लो डाँडामा एउटा बूढो पीपल थियो।
उसको जरा माटो भित्र कति टाढा सम्म पुगेको थियो, कसैलाई थाहा थिएन। हाँगाहरू आकाशतिर यति फैलिएका थिए कि दिउँसोको घाम पनि उसको छायाँमा आइपुग्दा केही क्षण थाके जस्तो देखिन्थ्यो।
गाउँलेहरू उसलाई ‘बूढो साक्षी’ भन्थे।
किनकि गाउँमा घटेका धेरै कुरा उसले देखेको थियो।
एक वर्ष गाउँमा पानीको ठूलो समस्या पर्यो। मुहान सुक्दै गयो। खेतमा धाँजा फाटे। मानिसहरू बिहानै गाग्री बोकेर तलको खोलातिर झर्न थाले।
त्यही बेला गाउँका केही शक्तिशाली मानिसहरूले डाँडाको जङ्गल काटेर त्यहाँ ठूलो ढुङ्गाखानी खोल्ने योजना बनाए।
“विकास हुन्छ,” उनीहरूले भने,
“गाउँमा पैसा आउँछ।”
गाउँलेहरू दुई भागमा बाँडिए।
कसैले रोजगारी देख्यो।
कसैले विनाश।
तर सबै भन्दा अचम्मको कुरा एउटै थियो—जङ्गलको बीचमा रहेको पुरानो मुहान कसरी अचानक सुक्योरु
त्यसको उत्तर कसैसँग थिएन।
एक रात गाउँको चौकीदारले जङ्गलतिर बाट कुल्चिएको पातको आवाज सुन्यो।
चर्र..
चर्र..
चर्र..
मानौँ अँध्यारोमा कोही बिस्तारै हिँडिरहेको हो।
उसले टर्च बाल्यो।
कसैलाई देखेन।
तर भोलिपल्ट बिहान बूढो पीपलको फेदमा एउटा सानो माटोको घैँटो भेटियो।
घैँटोभित्र पानी थियो।
र पानीमाथि एउटा कागज तैरिरहेको थियो—
“जसले पानी बेच्न खोज्छ, उसले पहिले आफ्नो तिर्खाको मूल्य बुझोस्।”
गाउँभरि हल्ला फैलियो।
कसैले भूत भन्यो।
कसैले देवताको संकेत।
तर गाउँकी वृद्धा मैना आमाले केही भनिनन्।
उनले केवल पीपलतिर हेरेर मुस्कुराइन्।
“जङ्गल बोल्दैन,” उनले भनिन्,
“तर मानिसले नसुनेको कुरा जङ्गलले धेरै पहिले देखि भनिरहेको हुन्छ।”
त्यस रात फेरि आवाज आयो।
चर्र..
चर्र..
चर्र…
यसपटक गाउँका केही युवाहरू आवाज पछ्याउँदै जङ्गलभित्र पुगे।
उनीहरूले एउटा अनौठो दृश्य देखे।
ढुङ्गाखानी खोल्ने योजना बनाउने मानिसहरू रातको अँध्यारोमा जङ्गलभित्र पसिरहेका थिए। उनीहरूले रूख काट्नका लागि सीमा छुट्याइरहेका थिए।
युवाहरूले सबै कुरा लुकिछिपी मोबाइलमा रेकर्ड गरे।
भोलिपल्ट त्यो दृश्य गाउँसभामा देखाइयो।
त्यहाँ अर्को रहस्य खुल्यो।
मुहान आफैँ सुकेको रहेनछ।
मुहानतर्फ जाने भूमिगत पानीको बाटोमा रातारात माटो र ढुङ्गा हालेर बाटो रोकिएको रहेछ—ताकि गाउँलेहरूलाई पानीको अभाव देखाएर जङ्गल काट्ने प्रस्ताव सजिलै स्वीकार गराउन सकियोस्।
गाउँ केही क्षण मौन रह्यो।
त्यसपछि मैना आमाले बूढो पीपलको एउटा सुक्खा पात हातमा उठाइन्।
“हामीले जङ्गल काट्नु अघि,” उनले भनिन्,
“जङ्गलले हामीलाई कति वर्ष पाल्यो भनेर गन्न सिक्नुपर्छ।”
त्यो दिन गाउँलेहरूले निर्णय गरे—
ढुङ्गाखानी खुल्ने छैन।
मुहानको बाटो सफा गरिनेछ।
जङ्गलमा नयाँ बिरुवा रोपिनेछन्।
रूख काट्ने होइन, रूख हुर्काउने कामलाई गाउँको सामूहिक जिम्मेवारी बनाइनेछ।
केही महिनापछि वर्षा आयो।
सुकिसकेको मुहान फेरि फुट्यो।
पानी बिस्तारै ढुङ्गामाथि बग्न थाल्यो।
त्यस दिन गाउँका बालबालिकाहरू पीपलमुनि खेलिरहेका थिए।
एउटा बालकले फेदमा केही देख्यो।
उसले माटो खोतल्यो।
त्यहाँ त्यही पुरानो घैँटो थियो।
तर यसपटक घैँटोभित्र पानी थिएन।
एउटा सानो बीउ थियो।
र कागजमा केवल एउटा वाक्य लेखिएको थियो—
“अब मेरो हिसाब तिमीहरूले राख।”
त्यसपछि कसैले त्यो घैँटो फेरि भेटेन।
तर प्रत्येक वर्ष गाउँमा सयौँ बिरुवा रोपिन थाले।
बूढो पीपल भने उभिइरह्यो।
साक्षी भएर।




