
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू केवल सरकार बनाउने र ढाल्ने खेलमा मात्र सिमित हुँदा मुलुकमा आर्थिक समृद्धि हासिल हुन नसकेको र त्यसैको परिणामस्वरुप जनता तथा युवा पुस्तामा चरम असन्तुष्टि र विद्रोहको भावना चुलिएको बताएका छन् ।
आईतवार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनताको असन्तोषलाई ‘विदेशीको षड्यन्त्र’ भन्दै पन्छाउनुको सट्टा राजनीतिक नेतृत्वले आफ्नै असफलताको जिम्मेवारी लिनुपर्ने स्पष्ट पारेका हुन् ।
भट्टराईले मुलुकभित्रका समस्याहरूको दोष अरूलाई थोपर्ने प्रवृत्ति त्यागेर दलहरूले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए ।
लामो बलिदानपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनताको जीवनस्तर सुधार्न नसक्नु राजनीतिक नेतृत्वको साझा कमजोरी रहेको उनले स्वीकार गरे ।
उनले भने, ‘हामी सरकार बनाउने र गिराउने खेलमै अल्झियौँ, आर्थिक समृद्धिको दिशामा अपेक्षित रूपमा अघि बढ्न सकेनौँ । त्यसैले जनतामा असन्तुष्टि बढ्यो र नयाँ पुस्ताले विद्रोहको आवाज उठायो । यसका लागि अरूलाई मात्र दोष दिने होइन, हामीले आफ्नै कमजोरी पनि स्वीकार गर्नुपर्छ । अब आगामी १०–२० वर्षमा नेपाललाई समृद्ध बनाउने स्पष्ट राष्ट्रिय योजना बनाऔँ । सबै राजनीतिक दलबीच सहमति गरौँ र कसले राम्रोसँग कार्यान्वयन गर्ने भन्नेमा प्रतिष्पर्धा गरौँ । यही बाटोबाट देश अघि बढ्न सक्छ ।’
