
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूलाई एकठाउँ ल्याउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गरिरहेको प्रयासको प्रशंसा गरेका छन्।
तर सरकारले राजनीतिक दल, संसद र नागरिकसँग संवाद नगरेको भन्दै उनले प्रधानमन्त्री बालेन शाहको आलोचना गरेका छन्।
नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले मुलुक अहिले प्राकृतिक विपत्ति, लोकतन्त्र, राष्ट्रियता, सुशासन र नयाँ पुस्ताका अपेक्षासहित विभिन्न चुनौतीको बाटोबाट अघि बढिरहेको बताए।
‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूलाई एकठाउँ ल्याउन राष्ट्रिय मुद्दाहरूमा निरन्तर प्रयत्न गर्नुहुन्छ’ उनले भने, ‘तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन, सरकार संसदसँग संवाद गर्दैन, सरकार नागरिकसँग संवाद गर्दैन, सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन।’
यस्तो अवस्थामा भविष्यमा आउन सक्ने प्राकृतिक विपत्ति र संकटको सामना कसरी गर्ने भन्ने कुरा अत्यन्त चिन्ताको विषय बनेको उनले बताए।
विगतको स्मरण गर्दै पोखरेलले भने , ‘राणाशासन, पन्चायात, ज्ञानेन्द्रको शासनविरुद्ध हामी साथै उभिएका थियौं । अहिले निराश युवालाई थप निराश हुन नदिन पनि हामी साथसाथै उभिने बेला आएको छ ।’ केही वर्षअघि दुईदलीय व्यवस्था हुन सक्ने आकलन गर्दै आएका पोखरेल स्वयं यति बेला तेस्रो दलको नेता छन् । उनको दुई दलभित्र सोचिएका कांग्रेस र एमालेबीच फेरि पनि सहकार्यको खाँचो उनले औंल्याए ।
पोखरेलले सरकारको काम गर्ने तरिकाबाट लोकतन्त्रको भविष्यमाथि नै चिन्ता उत्पन्न भएको बताए।
‘जसरी हिजो हामी नेपालका वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशाहीलाई परास्त गरेका छौं, पञ्चायतलाई परास्त गरेका छौं, राजा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेका छौं, त्यसैगरी हामीले लोकतन्त्रको रक्षाका लागि फेरि एक पटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ’ एमाले महासचिव पोखरेलले भने।
उनले नेपालमा भू–राजनीतिक द्वन्द्वका कारण देशको भविष्य के हुने हो भन्ने प्रश्न खडा भएको भन्दै देशको अस्मिता र सार्वभौमसत्ताको रक्षाका लागि नेपालका राजनीतिक दलहरू राष्ट्रियताको प्रश्नमा एकठाउँ उभिनुपर्ने बताए।
नयाँ पुस्ताका सपना, आशा र अपेक्षालाई फेरि निराशामा बदल्न नहुने उनको भनाइ थियो।
‘नयाँ पुस्ताका सपनाहरूलाई, आशाहरूलाई, अपेक्षाहरूलाई अब फेरि निराशामा बदल्न दिनुहुँदैन, आशामा बदल्नुपर्दछ,’उनले भने।
पोखरेलले जलवायु परिवर्तनका कारण नेपाल चरम संकटमा रहेको समेत उल्लेख गरे । उनले राजनीतिक दलले केवल अनुहार परिवर्तन गरेर मात्र नयाँ सामाजिक मनोविज्ञानलाई सम्बोधन गर्न नसक्ने बताए।
अनुहार बदलेर हुँदैन। सूचना प्रविधिको क्रान्तिले ल्याएको सामाजिक मनोविज्ञानमा बदलाव ल्याउनका लागि नयाँ राजनीतिक क्रान्तिको आवश्यकता छ’ उनले भने।
