
निबन्ध
रुपा रिसाल चालिसे
बा
बा घरको छाना हुन् ,सधैं हामीलाई घाम, पानी र हुरिबतासबाट जोगाउछन् । बा अमूल्य चिजको पिलर जस्तो बलवान व्यक्ति हुन् सिमेन्ट माटो र ढुङ्गाका सजावटमा टेवादिने, जीवन रुपी चलचित्रका अनमोल हिरो हुन् । बाको भौतिक रुपको परिचर्चा घरमा अदृश्य शक्तिको परिचालन हुँदा बाको परिभाषामा कहिल्यै महिमा गाउने अवसर जुरेन । हरेक मान्छेलाई आफ्नो बुवा कति प्यारो लाग्छ जब उसले बा को महत्व बुझ्दछ ।
बाले नै सारा प्राणीहरु देखेका छन् उनले नै झूठ र साँचोलाई पहिल्याउन जान्ने गुण बोकेका छन् । उनले नै सारा पृथ्वीको भ्रमण र विचरण गरी पानीका विभिन्न रुप अनि अग्नीको ज्वालनशील रुपको पहिचान गरेका छन् । त्यसैले नै बा सृष्टिकर्ता हुन्, संसारका अधिकतम भन्दा बढी दु:खसुख भोग गर्दै घुमफिरबाट आय आर्जन गरी परिवार धानेका छन् । दुनियाको रहस्य र कुकर्म नजिकबाट देख्न पाएका बुवाले नै सुमार्ग र कुमार्गको बाटो देखाएका छन् । बुद्धिदाताको रुपमा आफ्ना विवेकको प्रयोगले हाम्रा हरेक पाइलामा काँडा र दलदलमा फसेको सन्तानलाई उतार्न सक्ने हजारौं गुणको क्षमता छ बाको हातमा । मृदुभाषी कौसल र चित्रकारिताको ज्ञान छ आकाशमा उड्ने पक्षीको बहाव छ बुवाको हंसरुपी कलामा । मन र मस्तिष्कमा निरडर सरल स्वाभाव छ, मानवीय प्रतियोगितामा सुकर्म गर्दै जीवन चलायमान गराउँनु हुन्छ । सदा आफ्ना बाच्चालाई शत्रुको भयबाट टाढा बचाएर राख्ने, हिंश्रक जनावर र सेनापतिको युद्धमा जाने बिजयको भावनाले सुसज्जित कलाकौसलले निपूर्ण सन्ततिका आडमा बुवा सत्यतामा अडिग हुने पुरुष हुन् बा ।
स्वस्थानी ब्रत कथाको प्रसंङ्गमा गोमा ब्राह्मणीका छोरा नवराजले आमा मेरो पहिचान दिने बा कहाँ छन् भनि नवराजले सोध्दा गोमा ब्राह्मणीले बाबु तेरा बा शिव शर्मा ब्राह्मण परदेशमा गएका फिरेनन् भन्दा जसरी नवराज भाव विह्वल भए त्यसरी नै हरेक मान्छेको बाउ बराजुको वंश विस्तारमा लागेका बा नै हाम्रो पहिचान बन्न पुग्यो । छोरा छोरी दुई आँखाका तारा हुन् भन्दै आफ्नो स्वाभाव र अनुहार खोज्ने बाले कुमारकोटीको बच्चा झैं आफ्नै गुणमा परिणत गरिदिनु भो हामीलाई ।
बाका आँखामा दृढ विश्वासका ज्वाला बलिरहेका छन् । अनि मस्तिष्कमा आत्मविश्वासका भकारी बोक्दा नै बुवाको टाउको बढेमानको र मुहारमा भैरवको आकृति देखिन्छ । बाको हृदयमा रातो न्यानोपनको तरल पदार्थ बग्ने भएकोले नै मुहारमा आत्मीय सौरम्यता झल्केको छ । कसैले घरमा दुई पैसा झिक्नु पर्दैन, बा घर व्यवहारको मूल अर्थतन्त्रको विधाता भई ठूला योजनाहरुमा पैसाको खोला बन्दै मुहान बनेर बग्दै धर्ती सिंचित गरिदिनु हुन्छ । बच्चाको उच्च शिक्षा दिक्षाको अभिभारा लिएर स्वास्थ्य र धनसम्पदाको जिम्मेवार अविभावक व्यक्ति बनिदिनु हुन्छ । कागज कलमको अभाव कहिल्यै हुन दिनु भएन अभिभावकत्व धानी सधैं न्यायोचित अविभारामा बसी दिनु हुन्छ । संसारकै प्रिय सुन्दर आचरण भएको दुर्लभ व्यक्ति हिरो हुन् बा, दातारामका दैव हुन् उहाँको खल्तीमा यति धेरै पैसा हुन्छ जुन कहिल्यै रित्तिदैन ।
आमाले बाका नाम नखाई नखाई दिन कटाएको सम्झदा मात्र बा कति वेला घरमा आउँछन् होला भनेर मेरा आँखा टटाउन थाल्थे । कहिले त हामी सुति सकेपछि मात्र घर आउनु हुन्थ्यो । आमा अब त भात खानु न भन्दा तेरा बा आएनन् सँगै खाने भनेर दिनभरी भोक भोकै बस्ने मेरी आमालाई कति बेला ग्याष्टिक रोगले च्याप्यो थाहै हुँदैनथ्यो । पतिब्रता धर्म र पत्नी ब्रता धर्मको आचरण परिपालना गर्न/ गराउन आफ्ना भावी सामाजिक सम्बाहक हुन् बा ।
धर्मो रक्षति रक्षत: मानव भएर आफ्नो धर्मको रक्षा गर्नु नै हाम्रो कर्तव्य हो र धर्मले पनि हाम्रो रक्षा गर्नेछ भन्ने पाठ सिकाउनु भो बाले । भाषिक ज्ञानले सुशोभित मन मस्तिष्कले सधैं मानवीय धर्मिक अनुष्ठानले रोग भय र दैवी प्रकोपको सामना गर्दै मान्छेभित्र ईश्वरीय रुप देख्न सिकाउने बाको तारिफ कस्ले नै गर्न सक्छ र । रात विहान साझ नभनी आफ्ना काममा रमाउने स्वाभावका बा पौरखका प्रतिबिम्बले कर्म प्राप्तिमा जीवन अर्पण गर्न सिकाए । शिक्षाका क्षेत्रमा पसिनाको रङ्गमा नुहाउने अक्षर, शब्द र बाक्यका ज्ञाता गुरुका चेला धेरै थिए । अहिलेका गेरु बस्त्र धारण गर्ने धार्मिक गुरु भन्दा कम थिएनन् उनी त साधु सन्तका रुपमा गन्न सकिने भावनाले छरछिमेकी दाजुभाई सबै इष्टमित्र बटुले बाले । ज्ञानको ज्योति छरिदिने गुरुलाई जसरी मान मनिदो गर्छन् उसै त आफ्ना विद्यार्थीका हातसमाएर कलमले लेख्न सिकाउने बाका शिष्यले उहाँलाई सधैं श्रद्धा भावले शिर झुकाएर ढोग गरी पुज्ने गर्छन् ।
धर्म शास्त्रमा गुरुको महत्व कति छ बुवा भनेको नै गुरु हुन् – “गुरु ब्रह्मा, गुरु र्बिष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरुवे नम:” महाविद्या करुणा सागरमा भरखरै उदाउने सूर्यका किरणका प्रकाश हुन् । त्यसमाथि पनि साँचिकै पढाउने गुरु । मानव जातिको सर्वश्रेष्ठ उत्थान र सम्मोहन भावनामा डुबुल्की मार्ने तिनै बा हुन् ।
बा भाषा विज्ञान र विचारका अनुवादक जिजु बा र हजुरबाका अंशका सम्वाह हुन् । हाम्रा वरपर पुस्तौनी रुपमा रहेका घरका दस्तावेजहरु ज्ञाता सुखद दुखद घटनाका साक्षी पनि हुन् । यो सारा सृष्टिको अनुनयन उनैमाथि थोपारिएको छ, बा सबै प्राणीमाथि दयालु भाव राख्ने गर्दछन् महिला र बालबालिका माथि उच्च स्थानमा राखेर उनका संस्कार र परम्पराले झुक्ने गर्दछ । शिकार गरिगरि आफ्नी गर्भिणीको रक्षा गर्दै बालबच्चाको जिम्मा लिन्छन् त्यसैले उनी प्रशान्त महासागर जस्तै शान्त र सौरभ्य छन् । उनको छातीमा अपार स्नेह र जीवन भरीको जोस जाँगर छ । उनका घुँडा कहिल्यै दुखेनन् हाम्रा लागि रोजी रोटी तयार गर्न कहिल्यै पछि परेनन् ।
संसारका कुनै पनि प्राणी बा विना जन्मनै नसक्ने हुँदा बा को महत्व झन्झन् पृथक बन्दै गयो । धर्मका अनुष्ठान गर्ने कर्तव्य परायण संस्कारमा जति पनि मातृ वात्सल्यको कुरा अगाडि सारेर राखेपनि मानव हुनुको विजारोपण त तिनै बाका कृपाले नै भएको रहेछ नि । हाम्रा मथिङ्गलमा बाका लागि अजश्र भाव उत्पन्न हुन साह्रै कठीन छ जो बुवाको सामिप्य आए अरु कसैले त्यो अनुभव गरे वा गरेनन् ।
मानवीय उर्जाको शक्तिले धर्ती उर्बर हराभरा भूमि बनाउने महायोग बासँग कहाँबाट आएको होला ? छक्क पर्छन् अबोध बालकले आशा गरेका यति धेरै नौला उपहार दिन सक्ने क्षमता, दया, माया कृपा र धैर्यवान विधाता कसरी बनेका होलान् । सन्तानलाई कहिल्यै निराश हुन दिएनन्, एकपल्ट लडे बढिन्छ भन्दै सधैं अगाडि बढ्ने प्रेरणादायी व्यक्ति कति सफल भए कति भएनन्, तर घर संसार सुखमय बनाउन खप्पिस बाले कर्म, धर्म र परोपकार गर्दै अनगिन्ती आरोह अवरोह पार गरें । यति धेरै विचार कसरी आएका होलान् उनमा, मागी खानु हुन्न भनी संस्कारमा हुर्काउने बा सधैं कर्मनिष्ठ बनेर सन्तानका प्रगतिमा हर्ष ठान्ने बा फेरी तिनै बच्चाको लालन पालन अनि हुर्काउन तल्लीन हुनुन्छ । यति धेरै उर्जा र साहस कहाँबाट पलाउँछ बृद्ध हुँदा पनि उहाँको शिर र शान शौकात उस्तै छ सिंहको जस्तो पहिले भन्दा अझ चम्केको छ बाको अनुहार । बैरिका साथमा घेरिएर बसेता पनि जुनसुकै दुष्ट स्वाभावका मानवका आसपास भए पनि बाका गुण गाउन पछि पर्दैनन् ।








