
सन्दर्भ : मोती जयन्ती
व्यक्तित्व
नेपाली साहित्यका विशिष्ट प्रतिभा मोतीराम भट्ट
राजीव श्रेष्ठ
आदिकवि भानुभक्त जन्मिएको करीव ४८ वर्षपछि नेपाली साहित्य आकाशमा उदाएका अत्यन्तै सशक्त व्यक्तित्व मोतीराम भट्ट एक बहुआयामिक, बहु-प्रतिभाशाली लेखक, कवि, संगीतकार, समीक्षक , गायक , गजलकार र कलाकार हुन्। उनी नेपालका सबैभन्दा लोकप्रिय कविहरू मध्ये एक हुन जस्को चर्चा हरेक साहित्यानुरागी नेपालीको घर-घरमा हुने गर्छ। भट्टलाई नेपाली साहित्यमा ठूलो क्रान्ति र धेरै उत्कृष्ट सुधारहरू ल्याउने श्रेय दिइन्छ।
मोतीराम भट्टको जन्म बि.सं. १९२३ भदौ २५ गते कुशे औसींका दिन काठमाडौंको भोंसीको टोलमा मा माता बिनुमर्दिनी देवी भट्ट र पिता पण्डित दयाराम भट्टको दोस्रो छोराको रूपमा भएको थियो।
धार्मिक महाकाव्य रामायणलाई आम जनताको भाषामा अनुवाद गर्ने भानुभक्त आचार्य नै भए पनि मोतीराम भट्टले नै यसलाई नेपालभरि प्रकाशित र प्रवर्द्धन गरे। आफ्नो साथीको विवाहमा भानुभक्त आचार्यको रामायणको लयबद्ध पाठ सुन्ने मौका पाएपछि उनको लेखन सुरु भयो। उनी भानुभक्तको रामायणबाट गहिरो रूपमा प्रेरित भए र उनको बारेमा अनुसन्धान सुरु गरे। यो घटनाले पछिल्ला समयमा सम्पूर्ण नेपाली साहित्य जगतलाई परिवर्तन गर्यो।
भानुभक्त आचार्यका कृतिहरूले भट्टलाई कवि, लेखक, आलोचक, जीवनीकार र प्रकाशक समेत बनायो। नेपालमा व्यक्तिगत प्रेस सचांलन गर्ने प्रथम नेपाली मोतीराम नै हुन। मोतीराम भट्टले आफ्ना साथीहरूसँग मिलेर छापाखाना खोलेका थिए र पुस्तक प्रकाशित गरेका थिए, जुन सम्भवतः नेपालको पहिलो निजी छापाखाना थियो। छापाखानाले उनलाई अन्य नेपाली लेखक र कविहरूलाई आफ्ना कृतिहरू प्रकाशित गर्ने अवसर दियो। पछि उनले भानुभक्तको जीवनी कवि भानुभक्तको जीवन चरित्र पनि प्रकाशित गरे।
त्यसैगरी, कवि मोतीराम भट्टको सचित्र चरित्र बर्णनको नामले उनको आफ्नै जीवनी पनि लेखेका थिए जुन पछि नर देव पाण्डेले प्रकाशित गरेका थिए। उच्च अध्यनको क्रममा बनारस पुगेका मोतीरामले एउटा पारसी भाषा विध्यालयमा भर्ना भै पारसी र उर्दु भाषाको गहिरो अध्यन गरेका थिए। त्यही भएर उनका कतिपय कविता र गजल उर्दु, पारसी एवँ हिन्दीमा पनि लेखिएका पाईन्छ। वि. स.१९४० देखि १९७५ सम्मको कालखण्डलाई मोतीराम युग भनेर चिनिन्छ नेपाली साहित्य जगतमा किनकि उनले लगभग २५ वटा पुस्तकहरू लेखे र सम्पादन पनि गरे। उनले हिन्दी र उर्दूमा केही कविताहरू लेखे तापनि भट्टले मुख्यतया नेपाली भाषामा निबन्ध, नाटक र कथाहरू लेखे। उनका केही प्रसिद्ध कृतिहरूमध्य मनोद्वेग प्रवाह, पञ्चक प्रपञ्च, शकुन्तला, प्रियदर्शिका र पिकदूत हुन्।

उनको उपलब्धिले ठूलो प्रभाव पार्यो र नेपाली साहित्यलाई पुनस् परिभाषित पनि गर्यो। मोतीरामले मित्रमण्डली नामक साहित्यिक समूह गठन गरेका थिए, जहाँ उनले नेपाली भाषामा पुस्तकहरू र अन्य सामग्रीहरू लेख्न र प्रकाशन गर्न मद्दत पाए। उनले १८६६ पछि नेपाली भाषाको पत्रिका गोरखा भारत जीवन पनि सुरु गरे। उनको मण्डलीमा नरदेव पाण्डे, लछ्मीदत पन्त, गोपी नाथ लोहनी, भोजराज पाम्डे र अन्य साथीहरु सामेल थिए।
बनारसको बसाइपछि नेपाल फर्किएर् २५ वर्षसम्म निरन्तर साहित्यको सेवा गरेका मोतीरामले नेपाली साहित्यमा सर्व प्रथम गजल लेखनको थालनि गरी शृगाँरिक रसमा गजल लेख्ने र गाउने प्रथा चलाए।
संस्कृति सम्बन्धमा थप अध्यन गर्ने उद्द्येश्यले कोलकोता पुगेका मोतीराम अचानक वि. स. १९५२मा बिरामी परे । अज्ञात बिमारीका कारण उनी काठमाडौं फर्केपनि सात महिना सम्म शैय्यामा थला परेर वि सं १९५३ को भाद्र महिनाको कुशे औसींकै दिन यस धरतीबाट सदाका लागि बिदा भए।
यसरी, नेपाली साहित्यमा पहिलो पटक गजल र जीवनी लेख्ने मात्र नभएर छापाखाना चलाउने तथा विविध मौलिक कार्यहरु गरेर अमूल्य योगदान दिने व्यक्तित्व मोतीराम भट्ट एक विशिष्ट प्रतिभा हुन।


