
थाइल्यान्ड । थाइल्यान्ड टेबल टेनिस संघको आयोजनामा थाइल्यान्डको बैंककस्थित फेसन आइल्यान्डमा यही सेप्टेम्बर ९ देखि १२, २०२६ सम्म सञ्चालन भइरहेको WTT Youth Contender Bangkok II 2026 अन्तर्गत आज सम्पन्न यू–१३ महिला एकलतर्फको खेलमा नेपालकी प्रज्ञा महर्जनले श्रीलंकाकी खेलाडी Chenuli Kasunya लाई ३–० को सोझो सेटमा पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेकी छन्। प्रज्ञाले उक्त खेल ११–७, १३–११ र ११–८ ले जितेकी हुन्। अब प्रज्ञाले नकआउट चरणमा चिनियाँ ताइपेइकी CHEN Pin Han विरुद्ध प्रतिस्पर्धा गर्ने छिन्।
यसअघि आजै सम्पन्न यू–१३ महिला एकलको लिग चरणको अर्को खेलमा प्रज्ञा जापानकी Nonoka SUZUKI सँग ०–३ (६–११, ६–११, १–११) ले पराजित भएकी थिइन्।
त्यस्तै, नेपालकी अर्की खेलाडी आभा प्रधानले यू–१३ महिला एकलतर्फ फिलिपिन्सकी Aleenah VENTURERO, थाइल्यान्डकी Kridlada CHOOMPUWISET र थाइल्यान्डकै Yanisa ITTIPOOMTAKSA विरुद्ध समान ०–३ को सेटमा पराजय व्यहोरेकी छन्।
यसैगरी, आज सम्पन्न यू–१७ पुरुष एकलतर्फ नेपालका सुगम पौडेलले भारतका Akshay KIRIKARA र थाइल्यान्डका Phoommiphat NOITA विरुद्ध समान ०–३ को सेटमा पराजय व्यहोरेका छन्।
नेपालकै अर्का खेलाडी नीरव महर्जनले पनि यू–१७ पुरुष एकलतर्फ उज्बेकिस्तानका Temurbek NURMONOV र मलेसियाका MUHAMMAD Faiz विरुद्ध समान ०–३ को सेटमा पराजय व्यहोरेका छन्।






