
काठमाडौँ ।आज राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ ।
विशेष समितिको सभापतिमा काँग्रेस सांसद कृष्णप्रसाद पौडेल निर्वाचित भएपछि पहिलो पटक बैठक बस्न लागेको हो । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ ।
प्रतिनिधि सभाले अलग्गै विशेष समिति बनाएपछि असोज १५ गते राष्ट्रिय सभाले पनि भोटेकोशी बाढीको अध्ययन गर्न विशेष समिति बनाएको थियो ।
नौ सदस्यीय समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुलप्रसाद विश्वकर्मालगायतका सांसद रहेका छन् ।
समितिलाई पुस मसान्तसम्मको समय दिइएको छ भने प्रतिनिधिसभाले बनाएको विशेष समितिसँग आवश्यक समन्वयन गर्न सक्ने भनिएको छ ।
समितिलाई विपद्मा जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेहरूको उपचार, शव व्यवस्थापन, पुनर्स्थापना लगायतको अध्ययन, समीक्षा गर्ने कार्यादेश तोकिएको छ ।








