
काठमाडौँ । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।
प्रदर्शनकारीले प्रहरी चौकी, सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनी गरेका सरकारी अधिकारीले बताएका छन् ।
मुख्यमन्त्री पेमा खाण्डुका अनुसार, सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्ने प्रस्ताव गरेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’विरुद्धको प्रदर्शनका क्रममा शुक्रबार राति हिंसा भड्किएको थियो । खाण्डुले भीडले ठूलो मात्रामा सम्पत्ति नष्ट गरेको बताए ।
प्रदर्शनकारीले प्रहरी चौकी र एनएचपीसीको कार्यालयमा तोडफोड गर्नुका साथै निर्वाचित जनप्रतिनिधिका घरमा लुटपाट गरेका उनले जानकारी दिए ।
प्रदर्शनकारीले हानेको ढुंगा लागेर करिब ४० प्रहरी घाइते भएका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
मुख्यमन्त्री खाण्डुले परियोजनाको विरोध गरिरहेका स्थानीयलाई हिंसाको बाटो त्यागेर सरकारसँग वार्ता गर्न आग्रह गरे ।
