
काठमाडौँ । अमेरिकाले नयाँ तथा थप कडा प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेका बेला इरानी मुद्रा रियाल सोमबार इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।
अनौपचारिक बजारमा एक अमेरिकी डलरको विनिमयदर बढेर दुई मिलियन (२० लाख २० हजार) इरानी रियाल पुगेको छ ।
इरानको केन्द्रीय बैंकले निर्धारण गरेको आधिकारिक विनिमयदर करिब १५ लाख रियाल भए पनि अधिकांश नागरिकले अनौपचारिक बजारको दरअनुसार कारोबार गर्ने गरेका छन् ।
पछिल्लो समय जारी युद्ध र अमेरिकी प्रतिबन्ध तथा आर्थिक दबाबका कारण इरानी अर्थतन्त्रमाथि थप दबाब परेको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि नै इरानी मुद्रा रियाल दोहोरो अंकको मुद्रास्फीति र ऋणात्मक आर्थिक वृद्धिदरका कारण दबाबमा थियो ।
तर, करिब ६ महिनादेखि जारी युद्धले अर्थतन्त्रमा थप असर पारेपछि रियालले पटक–पटक नयाँ ऐतिहासिक तल्लो विन्दु कायम गर्दै आएको छ ।
मुद्राको तीव्र अवमूल्यनसँगै इरानी नागरिकका लागि दैनिक उपभोग्य वस्तु खरिद महँगो बन्दै गएको छ । युद्ध सुरु भएयता इरानमा चामलको मूल्य करिब ६० प्रतिशतले बढेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले युद्ध र आर्थिक दबाबका कारण इरानको कुल गार्हस्थ्य उत्पादन पाँच प्रतिशतभन्दा बढीले संकुचन हुने प्रक्षेपण गरेको छ ।

