
संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँचवटा, अर्थ समितिमा चारवटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकारमा समितिमा तीन/तीनवटा विधेयक विचाराधीन छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्यव्यवस्था तथा सुशासन समितिमा दुई/दुईवटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, राष्ट्रियसभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैन ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा प्रस्तुत हुन बाँकी रहेको एउटा विधेयक रहेको छ ।
प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकमा अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन र खारेज गर्ने विधेयक, राहदानी (पहिलो संशोधन) विधेयक, भुक्तानी तथा फछ्र्योटसम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक, चलचित्र विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकलगायत छन् ।
