
काठमाडौँ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नेपाली राष्ट्रवादलाई एन्टी इन्डियनिज्मसँग जोड्ने युग सकिएको’ भन्दै भारतको नयाँदिल्लीमा व्यक्त गरेको अभिव्यक्तिप्रति नेकपा एमालेले प्रश्न उठाएको छ ।
नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको र यसको आफ्नै स्वतन्त्र परराष्ट्र नीति रहेको उल्लेख गर्दै एमाले प्रचारप्रसार विभाग प्रमुख निरज आचार्यले अर्थमन्त्री डा. वाग्लेले भारत भ्रमणका क्रममा नेपाली राष्ट्रवादबारे व्यक्त गरेको धारणामाथि प्रश्न उठाएका हुन् ।
‘नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने पुरानो भाष्य समाप्त भएको अभिव्यक्ति भारत भ्रमणका क्रममा दिनुको राजनीतिक सन्देश र कूटनीतिक औचित्यबारे प्रश्न उठाउन उठ्छन्,’ आचार्यले लेखेका छन्, ‘नेपालको राष्ट्रवाद भारतको विरोधमा मात्र आधारित छैन ।’एमालेका प्रचारप्रसार विभाग प्रमुख आचार्यका अनुसार, नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक आधारमा स्थापित छ । औपचारिक कूटनीतिक सम्बन्धदेखि अहिलेसम्म दुवै देशबीच सहकार्य र संवाद निरन्तर रहँदै आएको छ ।
भविष्यमा पनि यो सम्बन्ध पारस्परिक सम्मान, विश्वास, समानता र साझा हितका आधारमा अघि बढ्नुपर्ने आचार्यले बताएका छन् ।
उनी लेख्छन्, ‘छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु नेपालको आवश्यकता हो, तर त्यसका लागि आफ्ना राष्ट्रिय सरोकार र दृष्टिकोण प्रस्तुत गर्न नसक्नु र अतिरिक्त चाकडी आवश्यक छैन ।’
आचार्यले लेखेका छन्,‘मित्रराष्ट्रसँग असहमति राख्दैमा सम्बन्ध बिग्रन्छ भन्ने सोच र सम्बन्ध सुधार्ने नाममा सबै असहमतिलाई पन्छ्याएर “तुम सरणम’ गर्ने धारणा दुवै अतिवादी सोच हुन्,’ ‘स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने राष्ट्रले आफ्नो धारणा आफ्नै राष्ट्रिय हित र प्राथमिकताका आधारमा व्यक्त गर्नुपर्छ ।’

