
काठमाडौँ । ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा.सिल्भा कडा प्रतिस्पर्धाबीच चौथो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । निर्वाचन अधिकारीहरूले उनको विजयको औपचारिक घोषणा गरेका बीबीसीले जनाएको छ ।
सन् १९८८ मा प्रजातन्त्र पुनःस्थापना भएयता पहिलो चरणमा पछि परेका उमेदवारले दोस्रो चरणमा पुनरागमन गर्दै राष्ट्रपति निर्वाचन जितेको यो पहिलो घटना भएको बताइएको छ ।ब्राजिलको निर्वाचन आयोगका अनुसार ९८ प्रतिशतभन्दा बढी मतगणना हुँदा लुलाले ५१.७५ प्रतिशत मत प्राप्त गरेका छन् । फ्ल्याभियो बोल्सोनारोले ४८.२५ प्रतिशत मत पाएका छन् । कडा प्रतिस्पर्धाबीच लुलाले दोस्रो चरणमा निर्णायक अग्रता हासिल गरेका हुन् ।
यस महिनाको सुरुमा भएको पहिलो चरणको निर्वाचनमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा दक्षिणपन्थी सिनेटर फ्ल्याभियो बोल्सोनारोले करिब दुई प्रतिशत भोटको अग्रता लिएका थिए । तर, दोस्रो चरणमा लुलाले उनलाई पराजित गरेका हुन् ।
पहिलो चरणको निर्वाचनमा बोल्सोनारोले कुल खसेको मतको ४७ प्रतिशत मत ल्याएका थिए भने लुलाले ४५ प्रतिशत मत ल्याएका थिए ।
८० वर्षीय लुलाले चुनावलाई राष्ट्रिय सार्वभौमसत्तासँग जोड्दै ब्राजिलको झण्डा चुम्ने र अमेरिकी झण्डा चुम्ने व्यक्तिमध्ये जनताले रोज्नुपर्ने बताएका थिए ।

