
फ्रेइबर्गविरुद्ध ३–१ को जित निकाल्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ ।
आइतबार युरोपा पार्क रंगशालामा पाहुना टोली बायर्नलाई जित दिलाउन डायोट उपामेकानो, सर्ज जिनाब्री र माइकल ओलिसेले गोल गरे । फ्रेइबर्गले गोल आत्मघाती उपहारस्वरुप प्राप्त गर्यो ।
खेलको १६औँ मिनेटमा उपामेकानोको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ४२औँ मिनेटमा जिनाब्रीले टोलीको अग्रता दोब्बर बनाए ।
बायर्नका मिडफिल्डर टम बिशोफबाट आत्मघाती गोल हुनपुग्दा खेल २–१ को स्थितिमा आयो ।
इन्जुरी टाइममा ओलिसेले गोल गर्दा बायर्न ३–१ ले विजयी भयो ।
जितसँगै बायर्नले सात खेलबाट १७ अंक जोडेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग समान अंक भए पनि बायर्न गोलअन्तरमा अगाडि छ ।



