
काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले शनिबारदेखि आवासीय रूपमा छलफल गर्ने भएको छ । दुवै पक्षका दस्तावेज अध्ययन गरी छलफलपछि एउटै प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेस गर्ने सहमति भएको छ ।
शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदल बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’ ले दुईवटा छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गरेका थिए । एउटा महासचिवको तर्फबाट र अर्को आफ्नो तर्फबाट भन्दै उनले दस्तावेज पेस गरेका थिए ।बैठकमा छुट्टाछुट्टै प्रतिवेदन तयार गर्नु उपयुक्त नहुने धारणा आएपछि दुवै दस्तावेजमा रहेका विषय समेटेर एउटै प्रतिवेदन बनाउने सहमति भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।
शुक्रबार प्रस्तुत दस्तावेजको अध्ययनपछि शनिबारदेखि आवासीय रूपमा थप छलफल गर्ने निर्णय भएको हो । कार्यदलले छलफलबाट साझा प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा बुझाउनेछ । एमालेको सचिवालय बैठक र असोज ५–७ गतेको केन्द्रीय कमिटी बैठकका लागि कार्यदलको आवासीय बैठकले तयार गरेको एउटै ‘प्रतिवेदन’ छलफलका लागि पेश हुने बताइएको छ ।
एमाले सचिवालयको गत जेठ १० गते बसेको आठौँ बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव दिन कार्यदल गठन गरेको थियो । एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको कार्यदलले चार महिना बित्न लाग्दा पनि प्रतिवेदनलाई अन्तिम रूप दिन सकेको छैन । कार्यदलले यसअघि १३ वटा समूहसँग छुट्टाछुट्टै छलफल गरी सुझाव संकलन गरेको थियो । बैठकपछि एमाले उपमहासचिव लेखराज भट्टले भने महासचिवको दस्तावेजमा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने विषय नरहेको बताएका छन् ।

