
काठमाडौं ।मेलम्ची खानेपानी परियोजनामा भएको भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित चार जना दोषी ठहर भएका छन् । विशेष अदालतले खानेपानी परियोजनामा अनियमितता रहेको ठहर गर्दै पूर्वसचिव गजेन्द्र ठाकुर, रामचन्द्र देवकोटा, सूर्यराज कँडेल, शिवकुमार शर्मा, परामर्शदाता इप्टिसा सर्भिस डे इन्जिनियर्स एसएल र बीईटीएस कन्सल्टिङ सर्भिसेज लिमिटेड, जेभी निर्माण व्यवसायी सीएमसी डी राभेनालाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सात जनाबाहेक १० जनालाई सफाइ दिने फैसला गरेको छ ।
अदालतले पूर्वसचिव ठाकुरसँग भेरियसन अर्डर, रेन्टर चार्ज, प्रोभिजनल पेमेन्ट, नयाँ दररेट रेटिफिकेसन गरी जम्मा १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ भराउने फैसला गरेको छ । त्यस्तै, परामर्शदाता इप्टिसा–बीईटीएस जेभीका तत्कालीन डेपुटी टिम लिडर शिवकुमार शर्मासँग भेरियसन र प्रोभिजनल पेमेन्ट गरेर जम्मा २ करोड ९५ लाख ६५ हजार ३ सय ३ रुपैयाँ भराउने फैसला गरेको छ ।
रामचन्द्र देवकोटाको हकमा भेरियसन र प्रोभिजनल पेमेन्टबापत जम्मा २ करोड ९५ लाख ६५ हजार ३ सय ३ रुपैयाँ, सूर्यराज कँडेलको हकमा २ करोड ९५ लाख ६५ हजार ३ सय ३ रुपैयाँ, परामर्शदाता इप्टिसा सर्भिस डे इन्जिनियर्स एसएलसँग ६ करोड २१ लाख ९३ हजार ५ सय ९६ रुपैयाँ बिगो माग गरेको छ भने बीईटीएस कन्सल्टिङ सर्भिसेज लिमिटेडको हकमा पनि ६ करोड २१ लाख ९३ हजार ५ सय ९६ रुपैयाँ नै बिगो माग गरेको छ । त्यस्तै, जेभी निर्माण व्यवसायी सीएमसी डी राभेनासँग २६ करोड ११ लाख ६ हजार ९ सय ९१ रुपैयाँ ७९ पैसा बिगो भराउने फैसला भएको छ ।
अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । त्यस्तै, पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा, मुकुन्द पौडेलले पनि सफाइ पाएका छन् । बोर्डका अर्का सदस्य चन्द्रबहादुर थापाले पनि सफाइ पाए । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराईले पनि सफाइ पाएका छन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजबिक्रम थापा, लेखा उपसचिवहरू मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने र लेखा उपसचिव केदारप्रसाद अर्यालले पनि सफाइ पाएका छन् ।







