
लघुकथा
झुल्केघाम
ध्रुवराज थापा ‘पुरूष’
‘कति चोटि भैसक्यो गरेको ! यो चोटि त भो अब म गर्दिन!’ श्रीमतीले गुनासो गरिन् ।
‘त्यसो भनेर कहाँ हुन्छ ? गर्न त परिहाल्यो नि ! नगरेर कहाँ हुन्छ ? यति सानो कुरा भनेको पनि नमान्ने भए तिमी के को श्रीमती ?’ श्रीमान् जङ्गीए ।
कस्तो कुरा गर्नुभएको तपाईँले ? आफ्नो ज्यानले पनि धान्नुपर्यो नि ! अति गर्न त हुदैन नि ! कतिमात्र गर्नु ? डाक्टरले पनि धेरैपल्ट गर्न हुन्न भनेकाछन्!’ श्रीमतीले अड्डी कसिन् ।
सासुले बुहारीलाई सोधिन्, ‘तिमीहरु के को गलफती गरिरहेका छौ हँ ? के गर्ने र नगर्ने कुरा गर्दैछौ ?’
बुहारीले सासुको साहारा मागिन्,’हेर्नुस् न आमा आज जचाएर आएको मेरो गर्भमा यसपाला पनि छोरी नै छ रे ! यसपटक पनि बच्चा फाल्नुपर्यो भन्नुहुन्छ! के म मेसिन हो र ? कतिपल्ट सम्म यस्तो गर्ने ?’
यसपल्ट सासुमा चेतना घुस्यो,’अब तिमीलो त्यस्तो पापकर्म गर्न पर्दैन बुहारी !मेरो चेत खुलिसक्यो । अब नाति नै चाहिन्छ भन्ने छैन बुहारी, अब म छोरी भएपनि खुसी छु! जसरी हुन्छ तिम्रो शरीर हलुका होस् !’


