
काठमाडौं । जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ ।
सोमबार गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा कानुनमन्त्री सोबिता गौतम, प्रतिनिधिसभाका सदस्य तथा सहिद परिवारबीच छलफल भएको थियो ।
उक्त छलफलपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको अध्यक्षतामा गठित सहजीकरण समितिलाई जेनजीसम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने विशेष कार्यदलका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ ।
छलफलमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट गत मंसिर २४ गते स्वीकृत १० बुँदे सम्झौता तथा गत असार १८ गते स्वीकृत २४ बुँदे प्रस्ताव कार्यान्वयनको अवस्थाबारे विचार आदानप्रदान भएको थियो ।



