
लेख
माइतीको आँगनमा तीज
तारादेवी धमला
नेपाली हिन्दु नारीहरूको महान् चाड हरितालिका अर्थात् तीज हरेक वर्षझैँ यो वर्ष पनि नेपालीहरूको घरदैलोमा आइसकेको छ। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व हिन्दु नारीहरूले पति तथा परिवारको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै निराहार व्रत बसी भगवान् शिव र पार्वतीको पूजा आराधना गरी मनाउने परम्परा छ।
पौराणिक कथाअनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि नै भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। तर पार्वतीका पिता हिमालय पर्वतले आफ्नी छोरीको इच्छाविपरीत उनको विवाह देवर्षि नारदको सल्लाहअनुसार भगवान् विष्णुसँग गरिदिने निश्चित गरेपछि पार्वतीकी एक मिल्ने सखी (साथी) ले उनलाई उनको बुबाको घरबाट भगाएर गोप्य रूपमा कसैलाई पत्तो नदिने गरी घना जङ्गलको सुरक्षित स्थानमा लुकाएर राखिन्।
जङ्गलको एकान्त स्थानमा बसेर माता पार्वतीले बालुवाको शिवलिङ्ग तयार पारी अन्न र पानीसमेत नपिई तन, मन, वचन र कर्मले शिवजीलाई पतिको रूपमा पाऊँ भन्दै कठोर आराधना गर्न तल्लीन भइन्। उनको कठोर निष्ठा, समर्पण, त्याग र तपस्याबाट प्रसन्न भई भाद्र शुक्ल तृतीयाका दिन भगवान् शिव स्वयं प्रकट भई उनलाई पत्नीका रूपमा स्वीकार गर्ने वरदान दिए। यसरी पार्वतीले आफ्नो अटल प्रेम र तपस्याबाट शिवलाई प्राप्त गरिन् भन्ने मान्यता हिन्दु समाजमा युगौँदेखि पुस्तान्तर हुँदै आएको छ। समाजमा अर्को पनि मान्यता छ, जुन कालखण्डमा पार्वतीले शिवलाई पतिको रूपमा प्राप्त गरिन्, सोही समयदेखि हिन्दु नारीहरूले यो व्रत लिन थालेको धार्मिक विश्वास छ।
ऐतिहासिक तथा पौराणिक कालखण्डलाई हेर्दा तीज पर्व प्रकृतिको पूजा, नारी स्वतन्त्रता र पारिवारिक मिलनको माध्यमका रूपमा विकसित हुँदै आएको पाइन्छ। विशेष गरी माइतीबाट टाढिएकी चेलीबेटीले वर्ष दिनमा एकपटक जन्मघर अर्थात् माइतीघरमा जम्मा भई आफ्ना जीवनका भोगाइहरू, मनका वेदना, सुख-दुःख र पीरहरू गीत, सङ्गीत तथा नृत्यका माध्यमबाट पोख्ने चौतारीका रूपमा यसलाई लिइन्छ।
समयको फेरबदलसँगै यस पर्वले सामाजिक विसङ्गतिहरूका विरुद्ध बोल्ने, महिला सशक्तीकरणको वकालत गर्ने साथै राजनीतिक जागरण र परिवर्तनका लागि पनि महत्त्वपूर्ण ऐतिहासिक भूमिका खेल्दै आएको छ।
यो पर्व खास गरी चेली र माइतीबीचको सुमधुर र कोमल आत्मीयता कायम गर्ने, सुख र दुःखले भरिएका सम्झनाहरू साटासाट गर्ने एवं सबैभन्दा ठूलो कुरो त चेलीको मनको भारी बिसाउने चौतारीका रूपमा लिइन्छ। एक नारीले धरतीमा पाइला टेकेपछि शिक्षा¸संस्कार समाज परिवेश लगायत विविध ज्ञान हाँसिल गरेको स्थान विवाहको संस्कारले छाडिन्छ । विवाह पश्चात नयाँ थर, घर, गोत्र, समाज¸परिवेशमा पुग्छन् । नयाँ सृष्टि सिर्जनाका लागि बाटो तय गर्दा देखेका र भोगेका तिता–मिठा तथा कठिन परिस्थितिसँग पौठेजोरी खोज्दै अगाडि बड्नु पर्ने हरेक चेलीको वास्तविकता हो ।आफ्नो वर्तमान र विगतको इज्जत र सवालका लागि सम्झौताहीन संघर्ष गर्दै व्यतीत जीवनमा आइपरेका दुःख¸कष्ट, पीरमर्का, हाँसो¸खुशीसहितको मनको बह पोख्ने शीतल चौतारी हो हरितालिका तीज।
सधैँ आफ्नै ठान्ने घरआँगन, ढिकी-जाँतो, कोठा-चोटामा केही दिन पाहुनाका रूपमा प्रवेश गर्दै गर्दा सबै नयाँ-नौलो, त्यो कहाँ छ, यो कहिले किनेको, त्यो कता गयो, ए१ यस्तो पो भएछ त, मलाई थाहा नै थिएन, मनमनै भन्न बाध्य हुने परिवेश सिर्जना गराउने समय पनि हो तीज। यी र यस्तै यावत् कुराहरूको भारी बिसाउने, मनलाई हलुङ्गो र शान्त पार्ने चेलीहरूको साझा चौतारी हो माइतीघर। त्यही चौतारीमा फेरि पनि शीतल छाहारीको अनुभूति गर्ने आशावादीहरूको विशाल समूहका सदस्य हुन् चेली।
बदलिँदो परिस्थितिसँगै पछिल्लो समयमा विकसित चेतना हरेक घर घरमा पुगेको छ ।घरभित्रको संसारबाट बाहिरी संसारमा पनि आफ्नो ज्ञान, सीप, चेतनाले क्रियाशील हुँदै रमाउन थालेका चेलीहरूको सङ्ख्यामा उल्लेख्य रूपमा प्रगति भएको छ। आजका चेलीहरू घरभित्रको परिवेशसँगै घरबाहिरको परिवेशमा पनि संघर्ष गर्दै घर, परिवार देश र समाजका लागि अगाडि बढिरहेका छन्।जीवनमा आइपर्ने जुनसुकै परिवेशमा पनि उत्तिकै लगनशील र क्रियाशील भई हिम्मतिलो कार्य गर्दै अगाडि बढ्न सक्छन् भन्ने राम्रो उदाहरण पनि बन्न पुगेका छन्।
विडम्बना, धर्तीको आधा आकाश ढाक्ने, देश-समाजको नेतृत्व लिन सक्ने, जिम्मेवारीका गरुङ्गा पहाड बोक्न सक्ने चेलीलाई पाइला–पाइलामा अवसर, साथ, सहयोग, हौसला मात्रै छैन, त्यो सँगसँगै असहजता महसुस भएका समाचार र घटनाहरू समाचार माध्यमहरूमा आइरहेको देखिन्छ। यी दुवै खाले घटनाहरू मेची–कालीको आकाशभित्र मात्र सीमित छैनन्। विश्वमा जहाँ-जहाँ नारी शक्तिको सशक्त क्रियाशीलता हुन्छ, त्यहाँ-त्यहाँ सहजता र असहजताका विविध रूपहरू देखिएको अवस्था छ।
समय र जिम्मेवारीले चेलीहरूलाई संसारका विभिन्न स्थानमा पुर्याएको छ। तीजको यो समयमा भौतिक रूपमा माइतीको आँगनमा पुगेर रमाउने अवस्था सम्पूर्ण नारीहरूलाई छैन। आधुनिक प्रविधिको भरपूर सदुपयोग गर्दै डिजिटल माध्यमबाट आमा¸बुबा तथा जन्मघरको आँगन, कोठा, चोटा र बाल्यकालका साथी¸सङ्गीसँग सुखदुःख साटासाट गरी भरपूर आनन्द लिनुपर्ने अहिलेको आवश्यकता र बाध्यता हो।
विगतका समयमा आधुनिकताको नाममा नेपाली चाडपर्वहरू केही भड्किला र असामाजिक भएका थिए ।तीजको समयमा पनि परम्परागत मूल्य-मान्यता, धर्म, संस्कार, रीतिरिवाज, चालचलन र भेषभूषालाई चटक्कै छाडेर एक महिना अघिदेखि रेस्टुरेन्ट र पार्टी प्यालेसतिर तीज मनाउने, तीज पर्वलाई गहना प्रदर्शनमा र खानपानमा प्रतिस्पर्धाको चाड बनाउने विकृत परिपाटी बढेको थियो । विकृत अनुसरणले हाम्रो समाज कतातिर लम्किँदैछ भन्ने प्रश्न सिर्जना गरेको थियो।
भाद्र १० मा भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाली समाज समुदाय गाउँ बस्ती र जनता पीडामा रहेको अवस्था छ । पीडाको समयमा यसपटक नेपाली आकाशमा भड्किलो तीज देखिएको छैन।अब हामीले नयाँ संकल्प लिनुपर्छ । आगामी खुशीका दिनहरूमा पनि परिवार, समाज, देशको कार्य जिम्मेवारीमा बाँधिएका चेतनशील चेलीहरू भड्किलो र उत्ताउलो तीजको पक्षमा हामी रहनेछैनौं।
तीजले हाम्रो धार्मिक संस्कार र नेपाली मूल्य–मान्यता एवं सभ्यताको मौलिकता बोक्दै नयाँ पुस्तामा सार्दै जाओस्। परम्परागत मूल्य–मान्यतालाई ग्रहण गरी भावी सन्ततिहरूलाई सहजै हस्तान्तरण गर्न सक्नु आजको सांस्कृतिक जिम्मेवारी हो।
आगामी दिनमा तीजको मौलिकतामा कुनै ह्रास नआओस्। हरेक तीजमा माइतीको आँगन र हर समय घर-परिवार र माइतीको माया चेलीहरूले पाइरहून्। यही कामना गर्दै यसपालीको तीजमा चेलीहरूप्रति शुभकामना प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद सहित आम नारीको तर्फबाट यो अनुरोध गर्दछु आगामी दिनमा सबै खाले नारी हिंसा अन्त्य होऊन्। देशमा समग्र उन्नतिको अवस्था रहोस्। पार्वतीले शिवजी पाउँदा जस्तो खुशी अनुभव गरेकी थिइन्, त्यस्तै खुशी हर नेपालीको मनमा प्राप्त होस्। आगामी तीजमा सबै चेलीहरू सजिलै माइतीको आँगनमा जान सकून्।

