
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई रुसका रिफाइनरी तथा डिजेल उत्पादन केन्द्रमा आक्रमण नगर्न आग्रह गरेका छन् ।
ट्रम्पले यस्ता आक्रमणका कारण विश्वभर डिजेलको चरम अभाव भइरहेको बताएका छन् । अमेरिकामा डिजेलको मूल्य बढेर प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेको छ ।
ट्रम्पले भने, “हामीले जेलेन्स्कीसँग यस विषयमा कुराकानी गरेका छौँ । आक्रमणका लागि अन्य धेरै निसाना छन् । डिजेल इन्धनमाथि आक्रमण नगर्नुहोस्, किनभने यसले सम्पूर्ण विश्वलाई नै क्षति पुर्याइरहेको छ ।”
इरान युद्धपछि खाडी मुलुकबाट हुने तेल आपूर्तिमा यसअघि नै ठूलो गिरावट आइसकेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार, खाडी मुलुक र रुसबाट हुने डिजेल निर्यातमा उल्लेख्य कमी आएको छ, जसले विश्वव्यापी बजारमा थप दबाब सिर्जना गरेको छ ।



