
काठमाडौँ । नेपाली शिक्षा परिषद्ले राष्ट्रिय विभूति मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाउँदै ‘युवावर्ष मोती पुरस्कार’ प्रदान गरेको छ ।
हिजो शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.बद्री पोख्रेलले साहित्यकार इन्द्रबहादुर चौधरीलाई २०८३ सालको ‘युवावर्ष मोती पुरस्कार’ प्रदान गरेका हुन् ।
पुरस्कार प्रदान गर्दै डा. पोख्रेलले मोतीराम भट्टको योगदानबारे प्रकाश पारे ।
कार्यक्रमको प्रारम्भमा गजलकार घनेन्द्र ओझाले गजल वाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै परिषद्की अध्यक्ष रमा शर्माले आफूहरूले वि.स.२०१० सालदेखि मोतीजयन्ती निरन्तर रूपमा मनाउँदै आएको उल्लेख गरिन् ।
राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष शंकरप्रसाद पाण्डेले कोषद्वारा स्थापित ‘युवावर्ष मोती पुरस्कार’ २०४२ सालदेखि प्रदान गर्दै आएको जानकारी दिए ।
त्यस अवसरमा कोषका सदस्य सचिव डा.. विष्णु भण्डारी, पुरस्कृत चौधरीलगायतले आफ्ना धारणा राखे ।
सोही कार्यक्रममा शिक्षा परिषद्की सदस्य डा। इन्दिरा शर्माको संस्मरणात्मक कृति ‘विगतलाई फर्केर हेर्दा’ सार्वजनिक गरियो । लोकार्पित कृतिबारे कृतिकार डा. शर्माले आफ्नो धारणा राखिन् ।
कार्यक्रममा कविहरू रमेश खकुरेल, प्रा. शिवगोपाल रिसाल, चन्द्रवदना घिमिरे, आर.डी.प्रभास चटौत, कोषराज न्यौपाने, प्रह्लाद पोखरेललगायत साहित्यकारले कविता वाचन गरे ।

