
काठमाडौँ । लेखक तथा कलाकार शारदा चित्रकारद्वारा लिखित कलाविषयक पुस्तक ‘समय चक्र’ लोकार्पण गरिएको छ ।
नेवार महिला समूहको आयोजनामा हालै आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति एरिना ताम्राकार, पूर्वमन्त्री ऋद्धिबाबा प्रधान र लेखक चित्रकारले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।।
कार्यक्रममा कुलपति ताम्राकारले वरिष्ठ कलाकार चित्रकारको समग्र कलाजीवनमाथि प्रकाश पार्दै ‘समय चक्र’ नेपाली चित्रकलाको महत्त्वपूर्ण दस्तावेज भएको जिकिर गरे । ८६ वर्षको उमेरमा पनि चित्रकार सिर्जनाकर्ममा सक्रिय रहनु कलाकारका लागि प्रेरणादायी भएको उल्लेख गर्दै उहाँले परम्परागत नेवार चित्रकलाको संरक्षणमा चित्रकारले उल्लेखनीय योगदान पु¥याएको बताए ।
कार्यक्रममा पूर्वमन्त्री प्रधानले चित्रकार पुरानो साथी भएको स्मरण गर्दै नेपाली कला क्षेत्रमा उनको योगदानको प्रशंसा गर्दै नेपाली कलामै जीवन समर्पित कलाकारले कलाकै विषयमा लेखेको ‘समय चक्र’ ले नेपाली कलाका विविध पक्ष र तथ्य उजागर गर्ने विश्वास व्यक्त गरे ।
पुस्तकका लेखक चित्रकारले ‘समय चक्र’ मा आफूले कला क्षेत्रमा गरेका कामलाई तस्वीरसहित प्रस्तुत गरेको बताईन । उनले आफ्ना पिता मास्टर तेजबहादुर चित्रकारको योगदान स्मरण गर्दै उहाँकै प्रेरणाबाट आफू कला क्षेत्रमा प्रवेश गरेको उल्लेख गरिन । महिला भएर पनि कला क्षेत्रमा अघि बढ्न पिताको प्रेरणाले महत्वपूर्ण भूमिका खेलेको बताउँदै चित्रकार पुख्र्यौली परम्पराको कला संरक्षणमा आफूले सक्दो योगदान गर्दै आएको धारणा राखिन ।
पुस्तकको शीर्षक आलेख ‘समय चक्र’ मा बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय पहिचान बोकेको नेपालमा सनातनकालदेखि कलाको महत्त्व रहँदै आएको विषयमा गहन विवेचना गरिएको छ । यसमा विभिन्न जातजातिका परम्परागत पहिचानसँग जोडिएका लोककलाबारे जानकारीमूलक लेखसमेत समेटिएका छन् ।
त्यस्तै, कृतिमा ‘यात्रा : मेरो जीवन र कलाको’, ‘नेवार लोककला पुँज्या बचाउँदै कलाकार’, ‘यात्रा फर्केर हेर्दा’, ‘विरासत धान्न व्यस्त’ र ‘बखत दाइ संस्मरण’ लगायतका आलेख समावेश छन् । चित्रकारका बारेमा विभिन्न व्यक्तिले लेखेका लेखरचना तथा उनका अन्तर्वार्तासमेत पुस्तकमा समेटिएका छन् ।




