
काठमाडौँ। प्रमोद नेपालको सातौँ कृति ‘निरुत्तर’ लघुकथासङ्ग्रहको लोकार्पण भयो ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा प्रकाशित सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सूब सेन, ठाकुर शर्मा भण्डारी, गोपी मैनाली, युवराज मैनाली, रामप्रसाद दाहाल, कृष्ण प्रधान, कार्यक्रमका सभापति रामप्रसाद पन्त र सरोज नेपालले संयुक्तरूपमा गरे।
कार्यक्रममा प्रमुख अतिथि सूब सेनले प्रमोद नेपालका लघुकथाहरू नेपाली समाजका समसामयिक समस्या र विषयमा लेखिएको उल्लेख गर्दै कथाकार नेपाललाई अझ सशक्त लेखनयात्राका लागि शुभकामना दिए ।
कार्यक्रममा युवराज मैनालीले कृतिको समीक्षा गर्दै नेपालका लघुकथालेखनका गुण र दोषबारे आफ्ना धारणा प्रस्तुत गरे । स्रष्टा,समालोचक ठाकुर शर्मा भण्डारीले काव्यिक स्वागत मन्तव्यका साथै कार्यक्रममाथि प्रकाश पारे ।
सो अवसरमा कृतिमा भूमिका लेखक गोपी मैनाली, साहित्यकारहरू रामप्रसाद दाहाल, कलानिधि दाहाल, कृष्ण प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
कृतिकार प्रमोद नेपालले आफ्नो लेखनसाधनाबारे चर्चा गर्दै उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रमका सभापति एवं आयोजक सस्था दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले लोकार्पित कृति र कृतिकार प्रमोद नेपालका बारेमा बोल्दै कथाकार नेपाल आफूभन्दा पहिले नै साहित्यलेखनमा प्रवेश गरेको बताए ।
कार्यक्रममा कृतिकार नेपाल र उहाँकी धर्मपत्नी सुधा गौतम नेपाललाई सभापति पन्तले सम्मान गरे ।
कार्यक्रमको सहजीकरण स्रष्टा यादव भट्टराईले गरे ।
यो नेपालको सातौँ कृति हो ।
