
पुरुषोत्तम सापकोटा
भेडो, म
जब देखि म भेडो भएँ !
मलाइ मालिकले बेच्यो
भोक लाग्यो र भ्या भ्या गर्न थाले।
नयाँ मालिकले घाँस देखायो।
खान पाइन्छ कि भनेर म चुप लागे
मालिक घाँस देखाएर पानी दिएर गयो
पानी पिएँ,
एक्कैछिन टोलाएर सुते।
अर्को दिन मालिक आएर
मेरो शरीरको तौल र रौं जोख्यो
म, घाँस र खाना पाउने आशामा पुछार हल्लाए
उ पनि हांस्यो।
अर्को दिन बिहान खोले दियो पेटभरी
र, फेरि मेरो तौल नाप्यो।
अब घाँस पनि दियो
म मालिक प्रति नतमस्तक भए।
अब अर्को व्यापारी आयो र कर्के नजरले हेर्यो
छ्या, म त लजाए !
मायाँ गरि सुम्सुम्यो
काखैमा बोक्यो
मेरो जिउभरिको रौं सहलायो
फेरि म भेडो भए, नयाँ भेडो भएँ ।
उस्ले मलाई सहर देखाउछु भन्यो
म,माने
फेरि बेचिएछु, मैले पत्तै पाइन
सहर हेरे, बुझे, नांचे,हांसे भेडो भएरै
हा हा हा हा
म त उल भैसकेको रैछु थाहा नै भएन।
एउटा गज्जपको घरमा गए, नुहाएँ केही खाएँ
बाँच्नु पनि पर्दो रहेछ भेडाहरुले
खाना खाएर निन्द्रामा परें
सपनामा स्वर्ग देखें
राजा जस्तै, नेता जस्तै
हजारौको भीडमा चिच्याउँदै भासण दिए
निन्द्रा खुल्दा त नाङै
सर्बाङ नाङै
कोट,पाइन्ट,टाइ, गन्जी, जुत्ता,यहाँसम्मकि
लाज छोप्ने लंगौटीसम्म छैन।
लाजले भुतुक्कै भएर कुनामा बसेको थिए
अर्को मालिक आयो, कसार्इ।
फेरि मुसुक्क हासेर काखमै बोक्यो
टाउको, गर्दन, फिला, गेडा सप्पै हेर्यो
मलाइ लाज त लागिराकोथ्यो
तर लाज छोप्ने कुनै कपडा नै थिएन।
कसार्इले त नाङालाईपनि माया गर्दो रैछ है१
फेरि माया पाएँ १ भेडो न हुँ।
मलाई उसले बडो प्रेमपुर्बक
घरमै लग्यो
त्यहाँ म जस्तै अनगिन्ति नाङा
भेडाहरु पनि थिए, मैले फेरि भ्या भ्या गरें१
म, ताजा र नयाँ थिए
मेरो शरीरमा जुम्रा थिएनन,चाया थिएन
हिजो मात्रै खुर्किएको थिए।
फेरि त्यहाँ भासण भयो
नेताहरु आए,
म नै रोजाइमा परे फेरी अन्तिम पटक
मेरो अगाडि खुकुरी थियो
त्यसपछि मैले मलाई भेडो भन्ने पानी बिर्से
सधैका लागि ।









