
चितवन । पृथ्वी राजमार्गअन्तर्गत धादिङमा रहेको कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ १४ गते सडक भासिएको थियो । भासिएको सडकभन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्र्याक खोलेर आजदेखि सडक पुनः सञ्चालनमा ल्याइएको हो ।
आज दिउँसो ग्यास बुलेटहरू कृष्णभीर सडक पार गराइएको छ । ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमसहित नेपाली सेना पनि पुगेको थियो ।
तत्कालका लागि ग्यास बुलेट, ट्रकहरू मात्र सञ्चालन गरिनेछ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको हो ।
सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ । सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ ।
