
चर्चामा पुस्तक
शशीश्रीका समालोचना
गोपी मैनाली,जिवा लामिछाने,प्रा.डा.अर्जुनदेव भट्ट,कलानिधि दाहाल,युवराज मैनाली,विष्णुप्रसाद पन्त,ठाकुर शर्मा भण्डारी,रामप्रसाद पन्त,हरिभक्त सिग्देल महेश,अमर त्यागी,कृष्ण बाउसे,प्रदीप सापकोटा आदि अठारजना स्रष्टाहरुका विभिन्न विधाका सत्ताईसवटा पुस्तकहरुको शशीश्री आचार्यले लेखेका समालोचनाहरु समावेश गरिएको छ ।
विधागत विविधाका पुस्तकहरुको समालोचनाको विशेषता देखिन्छ । जस अनुसार गजल,मुक्तक,कविता,नियात्रा,निबन्ध,लघुकथा,खण्डकाव्य,धार्मिक तथा दार्शनिक र अनुसन्धानका पुस्तक लगायतका समालोचना कृतिमा समावेश छ ।
समालोचना गरिएका कृतिहरुमाथि सुक्ष्मरुपमा दृष्टिगोचर गरी कृति आएको छ । समालोचनामा गम्भिरता देखिन्छ ।
शशीश्रीका समालोचनालाई मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल,काठमाडौँले प्रकाशनमा ल्याएको हो । यस कृतिको मूल्य रु.५००। रहेको छ ।
स्वर चिकित्सा तथा नाडी विज्ञान
राजा राम पाण्डेको यो कृतिभित्र स्वर चिकित्सा तथा नाडी विज्ञानका समग्र कुराहरुको जानकारी लिन पाइन्छ । परम्परागत ज्ञान,व्यवहारिक अनुभव र समग्र स्वास्थ्य चेतनाबिचको सेतुको रुपमा यो पुस्तक रहेको छ । मानव शरीरभित्र प्रवाहित जीवनउर्जाको मौन भाषा बुझ्ने परम्परागत कला र विज्ञानलाई आधुनिक सन्दर्भमा कसरी बुझ्ने भन्ने किताबले बताउँछ । लेखकले आफ्नो ३५ वर्ष पुरानो स्वर चिधित्सा,नाडी विज्ञान,अनुसन्धान साधना र प्रशिक्षणका अनुभवहरु पनि यहाँ पस्केका छन् ।
कृतिले समग्र स्वर विज्ञानको परिचय,प्राण र श्वास,सूर्य स्वर,चन्द्र स्वर,नाडी विज्ञान र अवधारणा,शास्त्रीय र आधुनिक दृष्टिकोण,उपचारमा प्रयोगका कुराहरु जानकारी दिन्छ । यसैगरी स्वर चिकित्सामा पञ्चतत्वको बारेमा पनि प्रकाश पार्छ । स्वर चिकित्साका सूत्र,चक्र जागरण,ध्यान समाधि,आत्मज्ञानबारे जानकारी दिन्छ । स्वर परिवर्तनका तरिका सिकाउँछ । योगदण्डको महत्व,द्रष्टा, विकास र आवश्यकता थाहा दिन्छ । यतिमात्र कहाँ हो र ग्रह दशा निवारण विधिपनि यहाँ जान्न सकिन्छ ।
सरल भाषा,विभिन्न रंगीन चित्रहरुको प्रयोगले कृति पढ्नेले बुझ्न पाउँछ ।
स्वर चिकित्सा तथा नाडी विज्ञानलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.७८९। रहेको छ ।
अक्षरको प्रतिध्वनि
कवि बिष्णुमाया कट्टेलको कविता कृतिभित्र विभिन्न शिर्षकमा शिर्षकृत ६१ थान कविताहरु समावेश छन् । कविताहरु काव्यिक चेतले भरिएका छन् । नारी संवेदना पोखिएका छन् । भावना र अनुभूतिले भिजेका छन् । जीवन र जगतलाई पर्गेलेका छन् । कविताहरु नारीवादी स्वरहरु उरालेर लेखिएका छन् । समसामयिक चेतको निकट छन् । समानताको भावले भरिएका छन् र त्यस्तै आवाजहरु मुखरित पनि गर्छन् कविताले ।
कवितामा जीवन छ,प्रेम छ र कविता प्रेमिलपनि छन् । सम्बन्धका अनेक आयाम छन् । जिम्मेवारीवोध छ । चेतना उराल्छन्,विद्रोहको आगो ओकल्छन् बिष्णुका कविता । सामाजिक परिवर्तनका माध्यम बनेका छन् । भन्नुपर्दा आफु बाँचेको समयको जिउँदो जाग्दो फेहरिस्त कविताका विषय बनेका छन् ।
सरल र सुलोलित भाषा,आवश्यक बिम्ब र प्रतिकको प्रयोगले कविताहरु मीठा बनेका छन् । पठनीय भएका छन् ।
अक्षरको प्रतिध्वनिलाई हाम्रो चिन्हारी,सिक्किमले प्रकाशित गरेको हो । यसको मूल्य ने.रु.४००। रहेको छ ।


