
बोरा
पत्रकारिताको उम्दो नाम अखण्ड भण्डारीले उनको दोस्रो उपन्यास कृति बोरा बजारमा ल्याएका छन् । भाषामा खदिंला उनी लेखन,कला र शील्पसिर्जनामा जमेका देखिन्छन् । मलाया एक्सप्रेसबाट साहित्यिक क्षेत्रमा देखा परेका भण्डारी पत्रकारितामा समेत चर्चित नाम हो ।
आमाको ममताको महिमालाई बोराले निफनेको छ । आफ्नै सन्ततिले बोरामा हालेर फालेपनि पछि छोराप्रति कुनै गुनासो नगर्ने ममताको प्रतिमूर्ति आम आमाको कथानकता वरिपरि घुमेको उपन्यासले मनै हल्लाउन सक्छ । हामीलाई सोच्न बाध्य बनाउँछ कतै हामी पनि आफ्ना आमाहरु प्रति त्यस्तै त गरिरहेका छैनौं ? जस्तो सुकै दुखकष्ट आओस,आँधी हुरीको बेग चलोस आफ्ना सन्तानलाई स्नेहको अमृत पिलाउँने आमा,हर बखत सन्तानसुखको निम्ति किंचित विचलित हुँदैनन् भन्ने संकेत गर्छ उपन्यासले ।
मुख्य पात्र आमा समाजको यथार्थ पात्र हो । उनकै वरिपरि उपन्यास सकिएको छ । तर एउटी आमाले कति दुख पाउँछे पन्ना पन्नामा आँखामा आँसु द्रवित बनाउँछ यसले पाठकको । यसमा तीन आमा पात्र छन् जमुना,यमुना,मूना । सौतेनी आमा सबै उस्तै हुँदैनन् भनि मूना(सौतेनी आमा) पात्रको ब्यवहारबाट यहाँ देखाउँन खोजिएको पनि छ ।
सरल भाषाशैलीमा लेखिएको बोरा नारीका पीडा,बेदना र छटपटीहरुतर्फ लक्षित देखिन्छ । उपन्यासको सार्थक शिर्षक बोरा संबादात्मक शैलीमा लेखिएको छ । स्थानीय बोलीचालीका भाषाहरु चलाइएको छ ।मान्छेका सामाजिक सम्बन्धका अवयवहरु टिपेर भण्डारीले यथार्थपरक ढंगले उपन्यास कोरेका छन् । जति पढ्यो भयानक वियोगान्त लाग्ने उपन्यास अन्यमा सुखद मिलन भएर सकिन्छ । बोरा पिसबुक प्रालिले प्रकाशनमा ल्याएको हो । पठनीय कृतिको लागि बधाई ।
बादलडाँडा
नियात्राकार राजेन्द्रमान डङ्गोलको तेस्रो नियात्रा कृति हो बादलडाँडा । पेसाले पर्यटन व्यवसायी उनी विदेशी पर्यटकहरुसँग विभिन्न स्थानमा यात्रागरिरहन्छन् । प्रकृतिको भव्यतासँग रमाउँछन् । सुन्दर दृश्यहरुको आनन्द लिन्छन् । विभिन्न स्थानहरुमा साक्षात्कार गर्छन् । अनुभव र अनुभूतिमा लछप्पै भिज्छन् । र नियात्रा लेख्छन् ।
कुनैपनि नियात्रा घट्ना विवरण मात्र भएर राम्रो हुँदैन् । त्यसमा निजात्मक अनुभूतिहरु हुनुपर्दछ । स्थानीयताको प्रयुक्तता हुनुपर्दछ । तथ्यमा आधारित हुनुपर्दछ । मनको अनुभूतिहरु मिसाइएको हुनुपर्दछ । हो राजेन्द्रका बादलडाँडामा यी सबै कुराहरु पाइन्छन् ।
घुमेका ठाउँका मान्छेका संस्कार,संस्कृति,त्यहाँको भूगोल सब पढ्न पाइन्छ । हिमालका सजिव वर्णन,हिमसंस्कृतिको स्वाद पाठकलाई पस्केका छन् । सुन्दर भाषिक शिल्पमा नियात्रा बुन्नु उनको विशेषता हो । यात्राका स्पर्शहरुको मीठो स्वाद छ बादलडाँडामा । यात्रामय अबलोकन अनुभव र कल्पनामा जोड्दाको मज्जा यहाँ छ । कृति पठनीय छ । भूँडीपुराण प्रकाशनले कृति प्रकाशनमा ल्याएको हो ।
बेग्लै म
कथाकार उषा शेरचनको कथासङ्ग्रह हो बेग्लै म । पारिवारिक परिवेशको वरिपरि घुमेका २९ वटा कथाहरुको संगालो । प्रेम,यौनजीवन, नाता सम्बन्धभित्रका कथाले स्थान पाएको देखिन्छ । परम्परागत मान्यतालाई चूनौती दिने वर्तमान पुस्ताका कुरा पनि छन् कथामा । कथामा उषाले चेतनाका अनेकाने रंग पोतेकी छन् । कथाहरुमा पात्रहरुका मनोविज्ञान पोखिएका छन् । त्यहाँ उनीहरुका छट्पटी छन् । दैनिकी छन् । विभिन्न सामाजिक विसंगतितर्फ लक्षित कथा छन् । सामाजिक मनोदशाहरुको छलफल छन् र निराकरणका शुत्र पनि । पुरुष पात्रले महिलाको स्वतंन्त्रतामाथि दखल दिंदा महिलामा उठेका विद्रोहका कथा छन् ।
वर्तमान समयका मानिसका पीडा,छटपटाहट र उकुसमुकुसहरु चित्रण गरिएका कथाहरु पठनीय लाग्छन् । नातासम्बन्धमा आएका प्रेम र ति प्रेमका जटिलता पनि सरल शब्दहरुमा औल्याइएका छन् । कथाहरु दुरुह छैनन् । सरल र सुपाच्य शब्दहरुमा लेखिएका छन् । यसैले विविध सुवासिला फुलहरु उनेर बनेको छ बेग्लै म । पुस्तकलाई आस्तिक शेरचनले प्रकाशित गरेका हुन् ।









