
निर्मलाको सुरुवाल बिटुलिएको साँझ
रमा अधिकारी “कादम्बरी”
सुरुवाल बिटुलिएको साँझ
निर्मलाको हत्या भयो
तर भेटिएन हत्यारा
यो बुद्धको देश हो ।
कसरी भनूँ ?
भर्खर फक्रदै गरेको निर्मलाको छाती
कामोद्धीपक थियो
कसरी भनूँ ?
बिस्तारै लालीमा चढ्दै गरेको उनको यौवन
अश्लील थियो
कठोर साँझ ! कठै निर्मला !
शकुनीको बन्दी बनिन् ।
दूर–दूरसम्म देखिएनन् कृष्ण
चीत्कार अन्धकारले निल्यो
खग्रासमा अल्झियो अस्मिता ।
हठात् मैलियो सुरुवाल
र निमेषभरमा नै निभ्यो जिन्दगी ।
गिद्ध गन्हाउने समीरले ढाकेको गगनमुन्तिर
खडियामा चट्पटे बेच्दै गरेकी
कुन् आमाले भन्न सक्लिन्–
“छोरी तिमी निर्धक्क स्कुल जाउ …!”
के अर्को साँझ नबिटुलिएला सुरुवाल ?
नमारिएलान् निर्मलाहरु ?
आततायी दुरात्माहरुको आघोषमा दबेको रैयत निरीह छ
खै ! कसले गर्छ पैरवी
निर्मलाको पक्षमा ?
हुन त यो बुद्धको देश हो ।
