
कविता
सेल्फी
शुषमा चित्रकार
भुइँचालो,
बाढी
र पहिरोको बितण्डापछि
चर्किएर
भत्किएको छ—
सानो
संसार पनि।
क्षतविक्षत
सपनाहरू
उठ्न सकेकै छैनन्,
आँखा मिच्दै
सत्य कि भ्रमको
अन्योलमा।
निर्निमेष
टोलाइरहेका
निसहाय अनुहारका
छताछुल्ल
पीडालाई
पृष्ठभूमि बनाएर
फेसबुक
र इन्स्टाग्राममा
भाइरल हुने
कस्तो शौख१
कस्तो साहस१
उसले
खिचेका
असंख्य सेल्फीका
मुस्कानमा
हतारमा
‘लाइक’
हान्दा
खै, कुन्नि—
तिमीले
पीडालाई
मन परायौ कि
कसैको
पीडामाथिको
उपहासलाई ?


