
काठमाडौँ । ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ उपन्यासकार नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गरिने भएको छ ।
कविडाँडा साहित्य समाज, चितवनले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरूमध्येबाट एक कृतिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
समाजका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै समाजले उपन्यास ‘राजमाता’लाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिए ।
विज्ञप्तिमा उल्लेख छ, “राजमाता उपन्यासले एकातिर तत्कालीन समाजमा महिलाप्रति रहेको परम्परागत धारणा प्रस्तुत गरेको छ भने अर्कोतर्फ समय, आवश्यकता र क्षमताले ती धारणालाई चुनौती दिँदै महिलाहरूले राज्य सञ्चालनमा निर्वाह गरेको प्रभावशाली भूमिकालाई पनि सशक्त रूपमा चित्रण गरेको छ ।”
पुरस्कार समर्पण गरिने मिति तथा स्थान पछि सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।


