
मुस्ताङ । मुस्ताङको उत्तरी चीनसँगको सीमावर्ती कोरला नाका क्षेत्रमा सामान्य हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा मौसममा आएको परिवर्तनसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।लोमान्थाङदेखि कोरला नाकासम्मका भूभागमा हिमपात हुँदा सीमावर्ती क्षेत्रको जनजीवन, आवतजावत तथा व्यापारिक गतिविधिमा असर पर्नसक्ने देखिएको छ । कोरला नाका हुँदै सञ्चालन भइरहेको नेपाल–चीन व्यापार तथा मालवाहक कन्टेनर आवागमनमा मौसम प्रतिकूल बने थप समस्या आउन सक्नेछ ।
हिमपातसँगै चिसो बढ्दा मालवाहक कन्टेनर तथा अन्य सवारीसाधन सञ्चालनमा समेत समस्या आउन सक्ने एक कन्टेनर चालकले बताए । उनका अनुसार अत्यधिक चिसोका कारण गाडी स्टार्ट नहुनेलगायत समस्या आउन सक्ने सम्भावना रहन्छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार जिल्लाको लोमान्थाङदेखि घाँसासम्म तथा मुक्तिनाथदेखि तल्लो मुस्ताङका क्षेत्रमा भने वर्षा भइरहेको छ । उनका अनुसार हिमपातका कारण जिल्लामा हालसम्म कुनै अप्रिय घटना भएको छैन ।
यसैबीच, स्थानीय बासिन्दाले हिमपात र वर्षालाई हिउँद तथा चिसो मौसमको सुरुवातको संकेतका रूपमा लिने गरेका छन् । घरपझोङ गाउँपालिका–५ का ८३ वर्षीय कालबहादुर थकालीका अनुसार हिउँदको आगमनको संकेत गर्न हिमाली क्षेत्रमा प्रत्येक वर्ष यस समयमा पर्ने पानी तथा हिमपातलाई स्थानीय भाषामा ‘तन्जे नन्जे’ भन्ने गरिन्छ । कहिलेकाहिं तन्जे नन्जेले उग्ररुप पनि लिनसक्छ । थकालीका अनुसार पहिले क्यालेन्डरको प्रचलन नहुँदा मुस्ताङका स्थानीय बासिन्दाले मौसम परिवर्तन, वर्षा र हिमपातका आधारमा ऋतु तथा समयको अनुमान गर्ने गर्थे । अहिले पनि यस्ता प्राकृतिक संकेतलाई हिउँद र चिसो सुरु हुने संकेतका रूपमा बुझ्ने गरिएको उनले बताए ।



