
लघुकथा
प्रतिप्रश्न
गंगा खड्का
“ कुकुरलाई घिउ पच्दैन भन्थे हो रहेछ ,त्यति सुखसयलमा बस्न पाएको मान्छेले किन अनाहकमा ज्यान फ्यालेको होला ?” भर्खरै डोरी काटेर भुइँमा सुताइरहेको
काव्याको मृत शरीरलाई हेर्दै सरिताले भनिन् ।
“ त्यही त । उसले जति सुख कसले पाएको थियो र । त्यत्रो ठूलो घरकी मालिक्नी । छोराछोरी सबै विदेशमा छन् । सुख बौलाएर पो यसो गरेकी हो कि ? ” सरिताको कुरामा सही थप्दै नीताले भनिन् ।
त्यहाँ जम्मा भएका सबैले आ-आफ्नै विचार लाद्न थालेपछि काव्याका लोग्ने सौगातले पनि काव्याको मृत शरीरलाई अङ्गालो मार्दै बिलौना गरे , “ मैले कुनै कुराको कमी हुन दिएको थिइनँ । चिल्ला गाडी चढाएकै थिएँ , बैँक ब्यालेन्स टन्न थिए । गहनाले झपक्कै पारेर राखेको थिएँ । आखिर मलाई बिच बाटामा एक्लै छाडेर किन गयौ ? ”
“ भित्र पसेका दिनदेखि रिस उठ्यो कि कोसँग जान्छेस् जा भनेर मलाई बारबार तपाईंले लगाउनुभएको वचनले धनसम्पत्तिलाई ओझेलमा पार्यो त म के गरूँ ?”काव्याको आत्माले सौगातलाई धिक्कार्दै प्रतिप्रश्न गर्यो ।



