
बुकिपाटन, सुमन अनि संयोग
सुमन थापा संगम
योजनानुसार पोखरा बहिनी लक्ष्मीको घरमा थिएँ । अघिल्लो दिनको सल्लाहनुसार नै हामी दिदीबहिनी विहानै चार वजेदेखि तयारी अवस्थामा जीपको पर्खाईमा बस्यौं । पाँच बजे जीपले घरमै लिन आईपुग्ने कुरा भएकोले पनि हामीले तयारी समय भन्दा पहिले नै गरेका थियौं ।
‘बहिनी पाँच बज्न लाग्यो शिशीर भाइलाई फोन गर्नुहोस् ’ मैले लक्ष्मी बहिनीलाई अह्राएँ । अघिल्लो साँझ नै मलाई पाँच बजे फोन गर्नुहोस् है दिदी भनेर ड्राईभर शिशीर भाइले भनेका थिए । बहिनीले उनलाई फोन गरेर घरको लोकेशन दिईन् ।
बिहानको पाँच बजेर तीस मिनेट जाँदा नजाँदै शिशीर हामीलाई लिन घर आईपुगे ।
हामीले आ -आफ्नो झोला ओह्रालेर स्कोर्पियोमा राख्न शिशीरलाई दिँदै थियौं ऊ तर्सिहाले । आम्म्मा कति ठूला कति धेरै झोला हुन् । किन यत्रो झोला लिएर ट्रेकिङ्ग जान लागेको ? उनको जिज्ञासा हाम्रो अगाडि तेर्सियो ।
लक्ष्मी बहिनी हाँस्दै भनिन् – झोला हाम्ले बोक्ने हो र ? गाडीले बोकिहाल्छ नि । शिशीर पनि के कम ‘म त सबै फाल्दिन्छु है’ भन्दै झोला जीप भित्र फाल्न थाले । खानेकुरासहित हाम्रो झोला साँच्चै धेरै नै देखिन्थ्यो ।
जीपको स्टेरिङ्गमा बस्दै– ‘झोला बाहिरै फाल्दिन्छ कि भन्ने ठान्नु भो क्या हो ?’ प्रश्न हामीतिर हुत्याए । हामी बोल्न भ्याएकै थिएनौं फेरि भनिहाले मैले झुट बोले पनि हजुरहरुले पत्याउनु हुन्छ उनले आफुले आफैलाई एकदम सफाई दिंदै स्कोर्पियोको गति बढाए । यात्राको शुरुवातमै अघि अघि गुडिरहेको बसको पछिल्लो भागमा लेखिएको पंक्तिले पहिलो उर्जा थप्यो – ‘जान्छु ल! खोई त हाँसेको ?’ यो पंक्ति पढें खोई त हाँसेको ? शब्दले साँच्चै मेरो अघिल्तिर कोही उभिएर छुट्टिने बेला नमिठो बनेको मनलाई हँसाउन भने झैं भान भयो,म मनमनै हाँसे । यात्रा हो अनेक दृष्यले नयन सिंचन गरिरहेको हुन्छ । उसो त यो यात्रा तीन सुमन धारी नाम गरेका यात्रीको सुखद संगम थियो । यस्तो संयोग कमै जुर्छ ।

सहयात्रीमध्ये कसैले सुमन भनेर सम्बोधन गर्दा हामी तीनैजना आवाज आएतिर पुलुक्क मन्टो बटारि हालिंदोरैछ अनि त नझुक्किने वातावरण बनाउन उमेर अनुसार ए बि सि को ट्याग लगाईयो तर त्यो ट्यागले जन्मेदेखि भिरेको नामलाई के छेक्थ्यो र त्यो ए बि सी कता छुट्दो रैछ रैछ सुमन मात्र सुनिंदो रैछ झुक्किने क्रम फर्कंदा समेत नै रह्यो ।
पोखराबाट ढोरपाटन लगभग एकसय पचहत्तर किलोमिटरको दूरीमा छ । आठ घण्टाको समय लाग्छ भन्ने हामीले सुन्यौं । हामी कृष्ण मर्सानीसरको घरको आँगनमा रोकियौं रोकिनुको कारण हामी दुई दिदीबहिनी बाहेक अरु छजना सहयात्रीहरु थिए । सबै जीपमा चढ्ने तरखर गर्दै थिए कृष्णसरको श्रीमती दिदी र सुमनसरको श्रीमती हामीलाई सुखद यात्राको विदाई गर्न उभिएका थिए । कृष्णसरको श्रीमती निर्मलादिदीले फोन निकालेर ‘ल सुमनबहिनी तपाईबाट नै शुरु गरौं तपाईहरुले गर्न लाग्नुभएको यात्राको निम्ति कस्तो लागिरहेछ ? ’ निर्मला दिदीको प्रश्नले एक किसिमको रमाईलो पनि लाग्यो । यति खुसीका साथ परिवारको सहयोग अपरिहार्य हुन्छ । आफ्नो मनमा लागेका कुराहरु मैलेपनि दिदीको मोबाईलमा रेकर्ड गराएँ । अरु सहभागीहरुले पनि आफ्ना कुराहरु राख्नुभयो ।
हाम्रो यात्राको नेतृत्व शुरुबाट नै कृष्ण सरले गर्नुभएको थियो ।
‘ल हिंडौं अब ।’ वहाँको आदेश पालना गर्यौं ।
अब आठ घण्टा जिपभित्रै हुलिएर हिंडनु छ । साथीहरु गफमा रमाउन थाले म भने जीपको अघिल्लो सिटमा बसेर घरि साथीहरुको कुरा सुनेर हाँस्थे, घरि अघिल्लो पटकको पुनहिल घोरेपानीको यात्रा अनि घरि सुकुटेविचको कविता वाचनमा हराएँ ।
सुकुटे कविता वाचनमा गएको बेला र्याफ्टिङ्ग गर्दा त्यो फुच्चे गाईड भोटेकोसी नदीमा खसेर पानीमा डुबेको र मुखले फुरर्र पार्दै पानी फ्याक्दै डुङ्गा समाउन आइपुगेको सम्झदै मनमनै हाँस्दै गरेछु । यात्रा हो यात्रामा विगतका यात्रा झनधेरै अघिपछि गर्दै यात्रा गर्दै थिए मेरो मष्तिस्कमा ।
जीपले कहिले कालोपत्रे बाटोसँग नाता गाँस्थ्यो कहिले कच्ची बाटोसँग । कच्ची बाटोसँग जीपले मितेरी लाउँदा पछिल्लो सिटमा बस्ने सहयात्रीहरुलाई कठिन पक्कै भएको थियो कच्ची बाटोमा झिँक्याउँदा पनि अहँ कसैले पनि आफ्नो पीडाको आहटका स्वर बाहिर कतै निस्किएन । यात्राको सुन्दरता भनेको नै असल सहयात्री हुँदा रहेछन् । एकआपसको कियरिङ्ग हाँसो ठट्टा यात्राको सबैभन्दा रमाईलो पक्ष हुन् यिनै गुणले समेटिएका थिए सहयात्रीहरु ।
साथीहरु गफ्फिदै थिए चुनावी माहोल अझै तरोताजा नै रहेछ । भोट हालेको कुरा चल्दै थियो कृष्ण मर्सानी सरले फ्याट्ट भनिहालेको सुनें –‘अल्गोरिदम मास हिस्टेरिया भन्छ नि हो त्यस्तै भईएछ हामीलाई न त अमेरिकाले भन्यो न त कसैले भन्यो एकोहोरो भएर ड्याम कि ड्याम छाप लगाइयो ।’ मुनिन्द्र दाइले चुनावको कुरा फेरि हाले –‘हामी मुनामदन हो र भोट जाने ?’ अनि त के चाहियो र जिपभित्रको माहोल नै हाँसोमय भयो मुनामदनका कुराले फेरि शुरु भयो चलचित्रका कुरा । यात्रामा जति सहयात्री हुन्छौं ति यात्री पारिवारिक बनिदिए भने यात्रा निक्कै सहज र अविस्मरणीय बन्छ ।
म फेरि प्रकृति जोडिन पुगें । मेरा आँखा जंगल छेऊँको कच्ची बाटो किनारमा डुलिरहेको लामा पुच्छर भएको चरामा ठोक्कियो । चरा आफ्नै सुरमा चर्दै जंगलतिर पस्यो । मैले ड्राईभर शिशीर भाइलाई सोधें –‘ भाइ यो कुन चरा हो ’ उनले ‘लामपुच्छ्रे चरा भन्छौं हामीले त’ भने मलाई चराको खास नाम के रहेछ भनेर खुल्दुली लाग्यो । अचेल हात हातमै विश्व बुझ्न सकिने प्रविधि छ । मैले तुरुन्तै च्याट जि पी टी लाई सोधें लामपुच्छ्रे चराको खास नाम धनेश चरा रहेछ । रुख विरुवा चराचुरुङ्गी चिन्न नसक्ने मेरो कमजोरीका कारण कति कुराहरु कौतुहलतासंगै मनभित्र दविन्छ ।
अरे बाफ रे । फेरि अर्को मैले नचिनेको कुरो देखियो । बडेमानको रुखमा कपास जस्तै लछप्पै फुलेको देखें । मैले कपासको रुख भने चिनेकी थिएँ कपास फुल जस्तो बाक्लै फुलेको बडेमानको यो रुख देखेकी थिइन अब के गर्नु नसोधि सुखै भएन । मेरो नजिक स्टेरिङ्ग घुमाई रहेका ड्राईभर भाई थिए फेरि उनैलाई सोधें । ‘यति ठूलो रुख कपासको रुख त होईन होला भाई’ मैले त्यसो भन्दा भन्दै रुख पछाडि पुगिहाल्यो । उनले मेरो साईडतिर कोल्टिएर हेर्दै भने –‘त्यो त सिमल फुलेको हो नि’ त्यसो भन्दै फेरि भने च्याट जिपीटीलाई सोध्नु न । ’ म मुस्कुराएँ ।

सुमन सरले बेला बेला गुडिरहेको जीप अगाडिका प्राकृतिक सुन्दरतालाई मोबाइलमा कैद गर्न हात अगाडि बढाउँदै सुन्दर दृष्यहरु कैद गर्नु हुन्थ्यो । अन्जान तरिकाले तस्बिरहरु मोबाइलमा कैद गर्ने वहाँको सौख देख्दा खुसी पनि लाग्यो । यात्रामा यस्ता साथीहरु भए भने अनेक स्मरणीय क्षणहरु जीवन्त रहन्छन् । अचानक भनौं या भगवानको दिव्य स्वरुप सेताम्य रुझेका थिए खुसीले परेलीहरु यस्ता स्नेही साथीहरुसँगको यात्रा जो थियो ।
हामी गल्कोट दरवार पुग्दा प्रकृति हाम्रो यात्रालाई सौम्य बनाउन कुहिरोको पुष्पवृष्टि गर्न तम्तयार थियो । हामी पुग्दा कहिले घाम कहिले कुहिरो लुकामारी गरिरहेथ्यो त्यो दृष्यमा हामीले कहिले मोवाइलमा उक्त दृष्य समेटयौं कहिले दुईहात फैलाएर कुहिरो अंगाल्न व्यस्त भयौं । गल्कोट दरवार एक ऐतिहासिक दरवार रहेको कुरा सर्वविदित्तै छ । त्यसमा लुकेको कुरा हामीले त्यहाँको स्थानियबाट सुन्दा मन नमिठो गरि दुख्यो । माओवादी जनयुद्दको क्रममा २०५९ – ०१– ३१ गतेका दिन भरत बम मल्लका छोरा माधव बम मल्लको हत्या भएको रहेछ । हत्या भएको उक्त स्थानमा गमला र फलामको पाइपको सानो सानो पीलरले बारेर राखिएको छ । अचम्मको कुरा जुन स्थानमा हत्या पश्चात रगतले माटो भिजेको थियो सो स्थानमा अहिलेसम्म कुनै घाँसपात उम्रिएका छैनन् । दरवार आफैमा ऐतिहासिक र सुन्दर रहँदा रहँदै पनि सो घटनाका साक्षी जमिन देखेर मन रोयो । द्धन्द्धकालमा थुप्रै निर्दोषले ज्यान गुमाएको सम्झना फनफनी घुम्यो ।
दरवारस्थान अत्यन्त प्राकृतिक सुन्दरताले भरिएको छ । त्यहाँ आउने आन्तरिक पर्यटकहरु टिकटक बनाउन व्यस्त थिए । हामीपनि अहिलेको प्रविधि प्रयोग गर्न पछि परेनौं । संयोग गल्कोट दरवारमा कृष्ण बम मल्ल भेटिए उनले त्यहि नजिकै आफ्नो घर रहेको हामीलाई बताए । केही समयको भलाकुसारी पश्चात रेणु दिज्युले घरमै बनाएर ल्याएको खाजा खाएर तृप्त भयौं ।
कच्ची बाटो विचमा सानो पुलमाथि स-साना स्कुले बच्चाहरु खेल्दै फर्किरहेका थिए ।
जीप गुडिरहेकै थियो विमल दाइले भन्नुभयो, ‘यहाँ के पाइन्छ त नि सस्तो खाले लिएर जानुपर्यो ।’ बाटोभरि केराका घारीहरु देखिन्थ्यो अनि त लोकल केरा किन्ने कुरा भो एकछिन जीप रोकेर विमल दाइ ओर्लिएर दर्जनको दुईसय पचासका दरले किनेर आउँदै गर्दा निक्कै प्रफुल्लका साथ –‘यहाँ त सि सी क्यामेरा, वाईफाई, एन्टिना सबैथोक रहेछ ’ भन्नु भो साँच्चै भएर हो वा नभएर अरु कुनै कुरालाई संकेत गरेका हुन् मैले कुरो बुझिन । हामी यात्रा उकालिई रहेकोथियौ हुस्सुले पहाड ढाक्दै थियो ,चिसोले शरीरलाई साँघुरो बनाउँदै हामीले हातलाई बाँध्दै आफुलाई कसिरहेका थियौं ।
२७८० मीटरको उचाइमा पुग्दा हाम्रो नजिक रुद्रताल थियो । हामी सडकमा हुईकिरहेका यात्रीलाई ओए पर्ख म तिमीहरुकै नजिक छु भनिरहेको रहेछ । हामी नयाँ यात्री हामीलाई थाहा हुने कुरै भएन । रुद्रतालको आवाज ड्राईभर भाईले सुने क्यारे उनले ल तपाईहरु एकछिन यहाँ भ्रमण गर्नुहोस् यो तालमा माछा त होईन चेपागाँडा भने पाउनुहुन्छ भनेर जिप रोकिदिए । जीपबाट ओर्लंदा सुमन मर्सानीले अघि किनेको केरा हातमा लिंदै दर्जनको २५० रु को केरा अफरमा जम्मा १५० दरले लिनुहोस् भन्दै हँसाए ।
हुस्सुले ढाकेको रुखहरु थिए रुद्रताल वरिपरि । सानो पर्खालले घेरिएको त्यो तालमा पानी भने पटक्कै थिएन । भैंसीहरु चरिरहेको देख्यौं हामी अलिक निराश बन्यौं । जुका लाग्ने मौसम त थिएन तर के किराले हो खुट्टामा टोक्यो । टोकेको थाहा भएन तर पछि चिलाउन थाल्यो त्यो घाउ एकमहिनासम्म पनि निको भएन । यति सुन्दर ठाउँहरुमा स्थानीय सरकारको पहल हुने हो भने यस्ता स्थानहरु हाम्रा देशमा प्रसस्तै छन् । हामी चाहन्छौ यस्ता ठाउँको विकासको निम्ति सरकारको नजर पुगोस् । ड्राईभर भाइले विहान हामी जीप चढ्नासाथ म एकदम आरामसंग लैजान्छु तपाईहरुलाई भनेका थिए । साँच्चै तिनले यति आरामले लगेकि पोखराबाट ढोरपाटन आठ घण्टाको बाटो दश घण्टा लाग्यो । ढोरपाटन पुग्दा साँझको पाँच बजेर तीस मिनेट गैसकेको थियो । हामी ढोरपाटन पुगेर त्यो दिन त्यहाँ घुम्ने ढोरपाटनको पाटनैपाटन हिंड्ने उत्तरगंगाको धार्मिक स्थल अवलोकन गर्ने सबै कुरा समयले स्वाहा बनाइदियो । त्यहाँको स्थानीयसँग कुराकानी गर्दा उत्तरगंगा मगर समुदायको धार्मिक परम्परासंग जोडिएको र उत्तरगँगा नदीबाट बगेर आएको पानीले ढोरपाटन भूमि सिंचन भएको सुन्यौं ।
हामीले दश घण्टा लगाएर तय गरेको ढोरपाटनको यात्रामा ढोरपाटन अबेर पुगेको कारण थुप्रै रहरहरु रहरमै सिमित बने ।
तपाईं पाठकहरु भन्नुहोला –‘जेठ महिना लामोदिन साढे पाँच बज्दा त उज्यालै हुन्छ नि ।’ हो उज्यालै हुनुपर्ने हो तर पहाडीभेक चिसोठाउँ बादल र हुस्सु अनि छिनछिनमा वर्षिएको पानी यस्तो मौसममा होटलभित्र बसेर तातो चिया पिउनु जति मज्जा अरु के हुन्थ्यो र ? तर हामी त्यसरी तातै चिया मात्रै पिउन ढोरपाटन पुगेका थिएनौं । हामी बादल, हुस्सु र वर्षात्लाई पनि चुनौति दिन पुगेका थियौं । सोहि अनुसार हामीले समयलाई नै चुनौति दिने हेतुले हामी महिला साथीहरुले हत्तपत्त लुगा फेर्यों र अंधेरिन लागेको समयलाई रोक्ने सामथ्र्य नभए पनि त्यो छोटो समयलाई मोबाइलमा कैद गर्न सफल भयौं ।
होटल अनितामा हाम्रो बास र खानाको व्यवस्था गरेको थियो एडभेन्चर नेपालले । हामी दुईरात तीन दिनको प्याकेजमा गएका थियौं । हाम्रो पहिलो बास होटल अनितामा भयो ।
भोलिपल्ट बिहान सबेरै उठेर बुकिपाटनको यात्रा तय गर्नुथियो समयमै आ-आफ्नो ओछ्यानतर्फ लाग्यौं । हामी तीनजना महिलालाई छुट्याइएको कोठा सफा नै थियो, तर पुरुष साथीहरुलाई छुट्याईएको कोठाको ओछ्यान भने गन्हायर साथी रात आँखा उघारै गरेर काट्नुभएछ ।
बिहानै हाम्रो यात्रा बुकिपाटनतर्फ लाग्यो । ढोरपाटनबाट बुकीपाटन पुग्न पैदल उकालो पाँच घण्टा उक्लनु पर्ने रहेछ । लक्ष्म बहिनी र मैले पाँचघण्टा चारहजार मिटरको उकालो उक्लन कठिन हुन्छ सोचेर त्यहाँको सुविधा लिने निर्णय गरेका थियौं सोहि अनुसार हामी दुई बहिनी घोडामा चढेर यात्रा सहज बनायौं । विमल श्रेष्ठदाइ भने पहिला पैदल यात्रा शुरु गर्नु भो पछि कठिन महशुस भए पछि भने वहाँले पनि घोडा लिनुभएछ ।
उकालो उक्लंदा भेटिएका बाटाहरु कतै ढुङ्गाहरुको खुट्किलो बनाइएको थियो भने कतै माटो ढुङ्गाका समथर बाटाहरु थिए । खुट्किलोमा घोडा उक्लँदा भने थोरै अप्ठ्यारो भएपनि ओर्लंदा भने निक्कै कठिन हुँदोरहेछ । पहाडीबाटो कतै उकालो कतै ओरालो गरेर पुग्नु पर्ने नै भयो । बाटो छेउछाउ ठूलारुखहरु भेटिए कुनै सल्लाका कुनै गुराँसका कुनै मैले नचिनेका थुप्र्रै रुखविरुवाहरु, साँघुरो बाटो हुँदै उक्लियौं । ढोरपाटन र बुकिपाटन बाटो ठिक आधा बाटो चेप्टा ढुङ्गा पर्ने रहेछ । चेप्टा ढुङ्गा ३४२० मिटर उचाईमा रहेको यो स्थान हेर्दा एकातिर भिर एकातिर हल्का उचाइ रहेको पहाडको साँँघुरो बाटोको विचमा ठूलो चेप्टो ढुङ्गा मानिसले नै ओछ्याएको गुन्द्रि -पिर्का जस्तो दश बाह्रजना मज्जाले अटाउने ढुङ्गामा आउने जाने यात्रुहरुको विश्राम स्थल रहेछ । नजिकै पाल हालेर रातो चिया र विस्कुटको सानो पसल समेत रहेछ । हामी पनि त्यही चेप्टा ढुङ्गामा विश्राम गर्यौं । रेनु दिज्जुले घरमै बनाएर ल्याएको खाजा खुब मीठो मानी मानी खायौं । फेरि हाम्रो यात्रा शुरु भयो । चेप्टा ढुङ्गाबाट उकालो लागेपछि भने लेक लाग्न शुरु हुने रहेछ । चेप्टा ढुङ्गामा पलेटी कसेर पहाडका रुख विरुवा स्पर्श गर्दै आएको चिसो हावाको स्पर्शले पूनः ताजगी बटुलेर उक्लियौं । हामी घोडामा यात्रा गरेकोले उतिबेला लेकको भने कुनै आभास भएन । घोडा लिएर हिंड्ने सईसहरु भने उनीहरुको कमाउने श्रोत त्यहि भएकोले दिनदिनै जसो उक्लने ओर्लने गर्दा रहेछन् तर पनि गाह्रो हुन्छ भन्दै सुनाउँदै थिए । हामी घोडामा हुनेलाई त केहि फरक परेन तर अरु पर्यटकलाई भने हिंड्न निकै गाह्रो भएको पनि भेट्यौं । चितवनबाट आएका समूहका एकजना व्यक्ति उमेरले साठी नाघेका थिए होलान् दुई पाईला हिड्ने अनि बस्ने गर्दै थिए । हामीलाई घोडामा लिएर हिँड्ने सईसले ति व्यक्तिलाई भने, ‘ तपाईं हिंड्न सक्नुभएको रहेनछ । वहाँलाई पुर्यर आउँ?’ हामीलाई पुर्याएर आउन उनले सोधे । ति हिँड्नै नसक्ने व्यक्तिले आफू हिँड्ने आँट यथावत नै राखेका रहेछन् । पर्दैन म आँउछु भने । हाम्रो टोली मस्त हिँडीरहेकै थिए । विहान खाजा खाएर आठ बजे हिँडेका हामी दिउँसो दुईबजे पुग्यौं बाटोमा खाजा खाँदै भिडियो रिल्स बनाउँदै र रमाईलो गर्दै हिँड्दा ढोरपाटनबाट बुकिपाटन पुग्न ६ घण्टा लाग्यो हामीलाई ।
रुखको विच भूँईहरुमा साना साना सेता, पहेँला, राता र प्याजी रंगका बूकी फूलहरु भरर्खरै जमिनको गर्भबाट निक्लँदै गरेका थिए । बाटो कतै पहाडबाट बगेर आएको पानीले असजिलो बनाएको थियो कतै चिप्लने खालका माटो ढुङ्गा थिए । अप्ठ्यारो र ढुङ्गाले छापेको बाटो साँघुरो उकालो मा घोडा उक्लँदा खुट्टा लरखराउने रहेछ । त्यस्ता ठाउँहरुमा सईसले हामीलाई हात र काँध दिएर ओह्राल्थे कतिपय अप्ठ्यारो ठाउँमा हामी ओर्लिएर हिँड्यौं । साँच्चै भन्ने हो भने बुकिपाटनसम्म पुग्ने बाटो अति नै रमणीय छ । ति बाटाहरु कहिल्यै खाली नहुने किनकी कहिले गुराँस फुलेर बटुवालाई स्वागत गर्ने कहिले बूकी फूलेर पर्यटकको मन लोभ्याउने । नेपालको जस्तो यति सुन्दर ठाउँ विश्वमै कमै होलान् । बूकी फूलको चर्चा धेरै भएर बूकीफूल हेर्न आउन साउन भदौमा ठिक हुने रहेछ । त्यो समय पाटनभरि बूकी फूलको गलैंचा भेटिने रहेछ । तर बुकिपाटन बाह्रै महिना आउन मिल्ने ठाउँ रहेछ कहिले गुँरास कहिले बूकी कहिले हरियो वन त कहिले खुला अग्ला-अग्ला पहाड देखिने दृष्यले मन नलोभिने पर्यटक कमै भेटिन्छन् ।
हामीले यात्रा गर्दा गुँरास फुलेर सकिसकेको थियो । बूकी फुलेर ठूला भैसकेका थिएनन् । हामीले खुला पहाड भेट्यौं । खुला पहाडसंगको हाम्रो संगम अत्यन्तै प्रेमिल रह्यो । बूकीपाटनको ४००० मिटरको उचाईमा रहेको गेर्पाछेंडा घुम्न आउने पर्यटकको निम्ति खाने रासनहरु बोकेर उक्लँदै गरेका आमाहरु भेटिए । एउटी आमालाई सोधें –‘आमा यो के बोक्नु भएको ? उनले भनिन माथि लैजाने रासन सामान हो नानी । ’ यसरी पर्यटकको लागि सामान सहित उक्लंदै थिए उनीहरु त्यो लेकलाग्ने उकालोमा पनि ।
छ घण्टा उकालो उक्लिएर माथि के पुगेका थियौं ए बास्सै ! हिमाल दन्त लहर मिलाएर हाँसी रहेका रहेछन् । मन यति खुसी भयो कि त्यो खुसी वर्णन गर्न असमर्थ छु । हेर्दा खुला आकाश अनि हिमाल देख्दा नाचौं नाचौं भयो । घोडामा गएका हामी ओर्लनासाथ फोटो खिच्न लाग्यौं । दायाँबायाँ कान्ला कान्ला भएको भिरालो बीचमा बाह्रफुटे सडक जति चौडाभाग पहाडको टुप्पोमा हामी थियौं । तल पाटनमा भेंडाका बथान सेतै चरिरहेका देखिन्थे । हामी माथिपुग्दा साँझ नजिकींदै थियो । बतास बेतोडले मौका छोपे झैँ गरी हुरुरु हुर्रिंदै आउँदै जाँदै गर्दै थियो । साँझको पाँच बजेदेखि लगभग रातिको आठ बजेसम्म हावा बेतोडले चल्दो रैछ । कहिलेकाहिँ त बसेको टेन्ट नै उडाई दिँदोरहेछ । हामीलाई खान बस्न जिम्मा लिएका टेन्टका साहुजीका हामी यो सिजनको दोस्रो लटका ग्राहक परेछौं । शौचालयको व्यवस्थासम्म गर्न भ्याएका रहेनछन् ,हामीलाई अर्को टेन्टको शौचालय प्रयोग गर्न दिइयो ।
टेन्टमा बस्ने पाहुनालाई पटक- पटक तातोपानी र चिया सोध्दै आउने ती दाइ धन्यवादका पात्र हुनुहुन्छ । उकालो ओह्रालो चालिसमिनेट लाग्ने बाटो तय गरेर प्लास्टिकको जर्किन नाम्लोले बोकेर पाहुनालाई पानी पुर्याइरहेका थिए ।
राति भने मलाई लेक लागेछ । टाउको बेस्सरी नमज्जाले दुख्यो पेट बटारे जस्तो भयो ,खाना पनि खासै खान मन लागेन । अघिल्लो दिनदेखि नै लेक नलाग्ने औषधि खाँदापनि औषधिले असर गरेन । खाना थोरै खाएर पल्टन के खोजेको थिएँ मलाई बमिट आउन थाल्यो । बाहिर अन्धकार थियो बहिनी लक्ष्मीलाई साथ लिएर बाहिर निस्किएँ पेट खाली हुने गरि बमिट भयो । अनि भने थोरै हल्का महसुस भयो तर त्यो रात पुरै जागा भएर वित्यो शरीर असहज भएर निदाउनै सकिन । राति बहिनी लक्ष्मी ,रेणु दिज्जु सबै विरामी भयौं ।
विहान जसोतसो उठियो । सबैले आ आफ्नो अनुभव शेयर गर्यौं । अब भने मलाई टेन्ट राखेर काम गर्ने दाईहरु संग भेटेर केही बुझ्न मन थियो । म भान्से दाईहरु भए तिर लागें । काम गरिरहेका दाइहरुलाई मेरो पहिलो प्रश्न थियो – ‘दाइ यहाँ के को व्यवसाय चल्छ बढी ? ’ मेरो प्रश्नमा गम्भिर भएर दिल ब. विक दाइले उत्तर दिए । बुर्तिवाङ्गतिर बाटो नबनेर पहिला गाह्रो थियो । अहिले धेरै सजिलो छ । सिजनमा बढी व्यवसाय यही टेन्टकै हो । २० देखि २५ वटासम्म टेन्ट लाग्छन् । पाहुना नराख्ने तर व्यवशाय गर्न आउनेहरुले पनि सिजनमा टेन्ट हालेर व्यवसाय गर्छन् उनको तर्क थियो । केको व्यवसाय बढी माग हुन्छ सिजनमा भन्ने मेरो प्रश्नमा उनि भन्छन् – सिजनमा चल्ने दही,दूध,छुर्पी , यार्सा, जडीबुटी भन्नाले यहाँ जीवनबुटी पाइन्छ , पाँच अंगुले पाइन्छ उनको कथन थियो । ‘ऊ त्यो पारीको डाँडामा जाने हो भने थुप्रै चिजहरु भेटिन्छ’ उनले पल्लो डाँडा औंल्याउँदै देखाए । यता मलाई बुकिपाटनको अवस्था व्यवस्था सुनाउँदै थिए भने उता खाना पकाउने तयारी पनि गर्दै थिए । ‘एउटा पिस यार्सागुम्बा एक हजार देखि पन्ध्रसयसम्म पर्छ’ उनले सुनाए । मैले पाटनमा फुल्ने फूलको बारेमा जिज्ञासा राख्दा थुप्रै रंगका फूलहरु आफ्नै संरक्षणमा हुर्किए झैं फूल्छन् उनले सुनाए, ‘ढोरपाटन शिकारी आरक्षण क्षेत्रपर्छ एउटा टेन्ट बराबर एक महिनाको पन्ध्रसय व्यवसायहरुले कर तिर्नुपर्छ । बाहिरको पर्यटकले आफ्नो नीजिटेन्ट पनि लगाउन सक्छ तर एकरातको एक हजार आरक्षणलाई तिर्नुपर्छ । नावर, झारलहरुको शिकार गर्न आउने पर्यटकले त्यसको पनि आरक्षणलाई कर तिर्नुपर्छ ‘। बुकिपाटनबाट दुई घण्टाको बाटो तय गर्ने हो भने टिकाधारा पुगिन्छ त्यहाँको आकर्षण भेडीगोठहरु र भेंडाहरु टन्नै भेटिन्छन् । दिल ब. दाई र मिलन वि क भाइसँगको कुराकानी छोट्याएर हामी खाना खाईवरी बुकिपाटनबाट बिदा भयौं ।
