
ललितपूर । सञ्चारकर्मी एवं लेखक गोपीकृष्ण ढुंगाना र डीबी नेपाली दमुको संस्कृति सम्बन्धि पुस्तक ‘देहेडू अलौकिक उर्जा’ लोकार्पित भयो ।
स्टाफ कलेज,जाउलाखेलमा बुधबार आयोजित एक कार्यक्रममा देवराज विश्वकर्मा,डा.गोविन्द टण्डन,प्राडा खगेन्द्रप्रसाद लुइटेल लगायतले कृति लोकार्पण गरे ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दलित आयोगका माननीय अध्यक्ष देवराज विश्वकर्माले दलितलाई राज्यसत्ताले पलपल शोषण गरिरहेको बतए । उनले जातीय विभेदको समूल अन्त्य गर्न आफुहरु लागिपरेको बताए । उनले कृतिकारहरुलाई बधाई दिँदै थप अध्यययन अनुसन्धान गर्न बाटो खुलेको कुरामा जोड दिए ।
नेपाल गुठी संंस्थानका अध्यक्ष एवं संस्कृतिविद डा.गोविन्द टन्डनले दलित शब्दमाथि धेरै राजनीति हुँदै आएकोमा जोड दिए । उनले इतिहासतिर फर्केर हेर्दा विभिन्न कालखण्डमा दलितहरुमाथि शोषण हुँदै आएको भएपनि लोकतन्त्रमा स्थिति सुधारउन्मुख रहेको बताए । हामी एक हौँ भन्ने भावनाले मूलुक माथि उठ्ने उनको भनाई थियो । निरन्तर मिहेनत गरेर अध्ययन अनुसन्धान गरी लेखकद्धयले पिछडिएको क्षेत्रका समुदायको संस्कृतिका केही पक्षहरुलाई राष्ट्रियकरण गर्न कृतिले योगदान गरेको बताए ।
कार्यक्रममा प्राडा लुइटेल, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक बालकृष्ण बस्नेत,लेखक हीरा विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखे ।
कृतिमाथि समालोचक डा.ज्ञानु अधिकारीले चर्चा गर्दै भनिन्, ‘मूर्त,अमूर्त सम्पदाहरु देशका सम्पत्ति हुन् । यी कुराहरुले मौलिक पहिचान स्थापित हुन सहयोग पुर्याउँछन् । डा.अधिकारीले अगाडि भनिन्, ‘कालिकोटका कुमाल बंश परम्परा र बंशावली सहित उनीहरुका जात्राहरु,उनीहरुले पुज्ने देवताहरुको महिमा र विभिन्न किंवदन्तीहरु कृतिमा आएका छन् । जसले उनीहरुको इतिहास,संस्कृति र परम्परालाई कृतिमार्फत उजागर गरिदिएको छ ।’ उनले अनुसन्धान धेरै गाह्रो विषय भएको बताइन ।
डा. केशवमान श्रेष्ठले आफू विकासे कार्यकर्ताको रुपमा धेरै अगाडि कर्णालीका विभिन्न जिल्लाहरुमा पुगेको प्रसङ्ग जोड्रदै पुस्तकमाथि चर्चा गरे ।
डा. निर्मल विश्वकर्माले इतिहास अझै खोतल्नु पर्ने कुरामा जोड दिए । उनले पाँच सय होइन् कम्तिमा चार हजार पाँचसय वर्ष अगाडिका कुराहरु पनि अध्ययन गर्नु जरुरी भएको बताए । कृतिले विभिन्न विषयमा बहस छेडेको उनको भनाई थियो ।
लेखकद्धय ढुंगाना र दमुले लेखकीय अनुभूतिलाई साझा गरे ।
समता फाउन्डेसन,एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज र व्यावसायिक विकास तथा अनुसन्धान केन्द्रको संयृक्त आयोजनामा भएको उक्त कृति लोकार्पण एवं समीक्षात्मक संवाद कार्यक्रमको अध्यक्षता पदम सुन्दासले गरे । युवलाल विश्वकर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण साहित्यकार एवं सञ्चारकर्मी प्रदीप सापकोटाले गरे ।
