
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न भएको छ । पलेँटी झण्डै २२ वर्षअघि शुरु भएको लघु सांगीतिक कार्यक्रम हो ।
पलेँटीका संयोजक संगीतकार आभासले सञ्चालन गरेको कार्यक्रमलाई तीन खण्डमा विभाजन गरिएको थियो । पहिलो खण्डमा नीर शाहले जीवन र दर्शनसँग निकट रहेर रचेका शब्दहरू छानिएका थिए । कार्यक्रमको थालनी ‘गहिराईमा डुब्दै नडुब’ बोलको गीतबाट भएको थियो । दोस्रो प्रस्तुतिमा ‘कहिलेकाहीँ म हाँस्छु, धेरैबेर हाँस्छु’ बोलको गीत रहेको थियो ।
मञ्चको मध्यभागमा बसेका नीर शाहले सर्जकहरूसँग भएका आफ्ना संस्मरणहरू चाखलाग्दो गरी सुनाएका थिए । कार्यक्रमको सुरुमा विगतका संगतहरू सम्झँदा उनी गम्भीर मुद्रामा देखिएका थिए । खासगरी नारायण गोपालसँगको आफ्नो संगत सम्झँदै गर्दा उनी गीतका हरफले बोक्ने भाव झैँ गहन देखिन्थे ।
नारायण गोपालकै सन्दर्भ चलिरहँदा उनले ‘गोल्डन काइट वर्ल्ड सङ फेस्टिभल’मा जाँदा सँगै यात्रा गरेको सम्झना गरेका थिए । त्यही यात्राको क्रममा नारायण गोपालले जगदम्बाश्री प्राप्त गरेको समाचार पाएको र नारायण गोपालले हँस्यौली पारामा पुरस्कार रकमको हिसाबकिताब गर्दै किनमेल गरेको सम्झना गरेका थिए




