
कृति : नरेन्द्रदाइ
विधा : उपन्यास
उपन्यासकार : विश्वेश्वरप्रसाद कोइराला
राजनीतिमा अलग्गै पहिचान बनाउन सफल विश्वेश्वर नेपाली बाङ्मय जगतका बहुआयामिक प्रतिभा हुन् । नेपाली आख्यानलाई आधुनिकतामा प्रवेश गराउँन उनको महत्वपूर्ण भूमिका छ । उनको लेखनीमा सेग्मण्ड फ्रायड र एन्तोन चेखबको प्रभाव देखिन्छ ।
नरेन्द्रदाइ हाम्रो नेपाली ग्रामीण सामाजिक परिवेशलाई चित्रण गरिएको उपन्यास हो । तराइको ग्रामीण जनजीवनको यसमा उद्घाटन गरिएको छ । यस उपन्यासको मूलपात्र गौरीको पति र मुनरियाको प्रेमी हो नरेन्द्रदाइ । उ कप्तानी आमैको एक्लो छोरो । कलिलो उमेरमै गौरीसँग उसको बिहा हुन्छ । गौरीमा शारीरिक परिपक्वता नदेखिंदा उ मुनरियालाई माया गर्न पुग्छ । जातपात सोच्दैन् । भगाउँछ मुनरियालाई । दुबै जना काठमाडौंदेखि बनारससम्म पुग्छन् । यसरी घुम्ने क्रममा नरेन्द्रदाइलाई क्षयरोग हुन्छ । यसपछि उ घर फर्किन्छ र घरमै उसको मृत्यू हुन्छ । गौरी लोग्ने मरेपछि मानसिक असन्तुलित भै भूँइचालोमा परेर मर्छे ।
सामान्यतया नरेन्द्रदाइ यिनै तीन पात्रको वरिपरि घुमेको छ । मनोबैज्ञानिक जस्तो लाग्ने उपन्यासमा श्रीमति र प्रेमिका दुई भिन्न नारीपात्रहरुको दैनिकीको कथा छ यहाँ । विपिले सुन्दरीजल जेल बसाइको क्रममाका लेखेको यो उपन्यासमा गौरीको शारीरिक विकास नहुँदा नरेन्द्र उनीबाट टाढिएर मुनरियाको प्रेममा परेपछिका कथानकताहरु छन् यसमा । उतिबेलाको पितृसत्तात्मक सोचको यथार्थ चित्रण पनि उपन्यासले गरेको छ । मूलपात्र सामन्ती चरित्रको स्वभाव बोकेको देखिन्छ तर कति कतै विद्रोही पनि छ । उतिवेलाको नेपाली घरपरिवारमा हुने घट्नाको सटिक चित्रण भएको उपन्यास पठनीय छ । नरेन्द्रदाइ साझा प्रकाशनले पहिलो पटक सन् १९७० मा प्रकाशित गरेको हो ।
कृति : ब्रम्हपुत्रका छेउछाउ
विधा :उपन्यास
उपन्यासकार : लीलबहादुर क्षेत्री
चर्चित उपन्यास बसाईंका उपन्यासकार लीलबहादुर क्षेत्रीको यो उपन्यास आसममा रहेका नेपालीहरुको दैनिकीमा आधारित भएर लेखिएको यथार्थपरक उपन्यास हो । यसमा बाँच्नका निम्ति उनीहरुले गरेका संघर्षको जीवन्त बर्णन गरिएको छ । आसमेली नेपालीहरुको सामाजिक,आर्थिक,राजनीतिक अबस्थाको चित्रण गरिएको उपन्यासमा आसामेली नेपाली जनजीवनको यथार्थतालाई उजागर गरिएको छ ।
उतिबेलाको सामन्ती समाज,अभाव,गरिवीको कारण साहुको ऋण तिर्न नसकी नेपालबाट बसाईं सर्न बाध्य भएका मानवीर र जुरेलीहरुको साङ्गोपाङ्गो जीवन कथा हो ब्रम्हपुत्रको छेउछाउ । असमको भूमीमा पूस्तौंदेखि वसोवास गरेका नेपालीहरुको समग्र अवस्थालाई यहाँ दर्शाइएको छ ।
भारतीय स्वतन्त्रता संग्राममा असमका नेपालीहरुमा पलाएको जातीयताको भावना र राजनैतिक चेतनालाई पनि यहाँ उजागर गरिएको छ । बाँच्नको लागि संघर्ष गर्नुपर्छ भन्ने चाल्र्स डार्विनको सिद्धान्तलाई यो उपन्यासका मानवीर,जुरेली र गुमानेका संघर्षपूर्ण कथाहरुले सत्यापन गरेको छ । सरल,सहज भाषाशैलीमा भएको यो उपन्यास एक पठनीय कृति हो । साझा प्रकाशनले पहिलो पटक सन् १९८६ मा यसको प्रकाशन गरेको हो ।
कृति : गाउँ खोज्दै जाँदा
विधा : कविता
कवि : विजय सापकोटा
मार्मिक र सान्दर्भिक बिम्बहरुले भरिएका जीवन्त कविताहरुको सङ्ग्रह हो यो । समाजका हरेक विषयवस्तुमाथि घोत्लिएर कविता कर्म गर्ने विजय सापकोटाका ३० थान कविता यसमा समावेश भएका छन् । दुरुह नभएका सरल भाषामा गाउँकै परिवेश र मान्छेका मर्महरु कविताहरुले मर्मस्पर्शी रुपमा अभिव्यक्त गर्ने सामाथ्र्य राख्छन् । यहाँ आँसुका स्वर छन् । देशको भयावह तस्वीर छ । गाउँको सोझोपन,शालीनता,गाउँले सभ्यता र मनहरु पनि यहिं छन् ।
द्धन्द्धकालीन परिवेशको भग्न कहानी पनि कवितामा चित्रण गरिएको छ । अरुको पीडामा कविमन मज्जैले दुखेको छ । कविको चेतनशील मनले यो कारुणीक अब्यवस्था बनाउँनेहरुप्रति कटाक्ष पनि गरेको छ । नेतृत्वको रबैयाप्रति कविको खेद प्रकट भएको छ ।
लाशहरु गर्जिएको एउटा साँझमा
सिंहदरबार परिसरमा
एउटा अनौठो दृश्य देखियो
एक हुल छिर्केमिर्के मलामीहरुसंग मिलेर
लाशहरु
फरक रङ्गका मलामीहरुलाई
लखेटिरहेका थिए । ( एकदिन लासहरु)
शब्द भाँचकुचले मात्र कविता सुन्दर जन्मिन सक्दैन् भन्ने कुरा सार्थकता देखिन्छ उनका कविताहरुमा । कविता हामी सबैको सरोकारको विषय बन्नुपर्छ भन्ने कुरालाई कवि विजयका कविताले पुष्टि गरेका छन् । प्रस्तुत गाउँ खोज्दै जाँदामा सुन्दर र कालजयी कविता छन् । अब्बल कविताहरु छन् । कविताका पारखीहरुलाई मनपर्ने कविता छन् ।









