
काठमाडौं । काठमाडौँको बूढानिलकण्ठमा नयाँ क्रिकेट एकेडेमी क्रिकेट एरेनाको उद्घाटन भएको छ । बूढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले शनिबार एक कार्यक्रमकाबीच एकेडेमीको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।
’क्रिकेट एरेना: स्कुल अफ क्रिकेट, स्कुफ अफ चेस’ नाम रहेको एकेडेमीमा क्रिकेट र चेस दुई खेल सिकाईन्छ ।
बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ तल्लो भंगाल ओमनगर समाजमा अवस्थित रहेको क्रिकेट एरेना साढे ३ रोपनी क्षेत्रमा फैलिएको छ । जहाँ क्रिकेटको लागि दुई ईन्डोर नेट रहेको छ भने खुल्ला क्रिकेट मैदान पनि छ ।
मैदानमा स्ट्यान्डर्ड पिच समेत निर्माण गरिएको र एक टिममा ८ जना खेलाडी राखेर खेल्न मिल्ने सञ्चालक रुपक अर्यालले जानकारी दिए ।
पछिल्लो समय क्रिकेटमा धेरैको चासो रहेकोले ग्रासरुटदेखि क्रिकेटको विकासका लागि एकेडेमी सञ्चालन गरिएको अर्यालले बताए । ‘बच्चाहरुलाई खेल मात्र नभई मानसिक विकासको लागि क्रिकेट र चेसको लागि यो एकेडेमी सञ्चालनमा ल्याएका छौँ’ उनले भने ।
एकेडेमीमा हाल १० जनाले प्रशिक्षण लिईरहेको र ४० देखि ५० जनासम्मलाई प्रशिक्षण दिने लक्ष्य राखेको उनले बताए ।
त्यसका लागि भर्ना खुल्ला गरिने अर्यालले बताए । दुई प्रकारको भर्ना खोल्ने र्छाैँ । एउटा हप्ताको तीन दिन र अर्को हप्ताको ६ दिन प्रशिक्षण हुनेछ । भर्ना गरेपछि क्रिकेट ब्याट र टिसर्ट प्रदान गर्छाैँ’ अर्यालले भने ।
एकेडेमीमा पूर्व राष्ट्रिय क्रिकेटर प्रदिप गुरुङले प्रशिक्षण दिनेछन् । राष्ट्रिय स्तरको प्रतियोगिता खेलेका गुरुङ बालुवाटार क्रिकेट क्लबका पूर्व खेलाडी हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन नगर प्रमुख अधिकारीले यसरी क्रिकेटको एकेडेमीहरु खुल्नु खुशी र गौरवको कुरा भएको बताए । साथै उनले एकेडेमीबाट भविष्यमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुने र राष्ट्रिय टिमबाट खेल्ने विश्वास व्यक्त गरे ।
अधिकारीले सन्दीप लामिछानेले क्रिकेटबाटै नेपाललाई विश्वमा चिनाएको र गौरव बढाएको भन्दै अहिले क्रिकेट खेलतर्फ धेरैको आकर्षण रहेको बताए ।
उनले बूढानिलकण्ठ नगरपालिकाले क्रिकेट लगायत विभिन्न खेललाई प्राथमिकता दिएको र यो क्रिकेट एकेडेमी पनि थपिनु राम्रो कुरा भएको बताए ।








