
समीक्षा
घनश्याम राजकर्णिकारसँग घुम्नुको आनन्द
ज्ञानेन्द्र विवश
‘यात्रा अमेरिकाको माया नेपालको’ नामक नियात्रा कृतिबाट लेखक घनश्याम राजकर्णिकारले अनुभूतिको क्षितिजलाई व्यापक पारेका छन् । सोही क्रममा आफ्नो पछिल्लो यात्रा अमेरिका सन्दर्भमाथि लेखकीय अभिव्यक्ति प्रस्तुत कृतिमा गरिएको छ । नेपाली यात्रा साहित्यमा पृथक चिनारीका साथ स्थापित सर्जकका नियात्रामाथि लिखित धेरै कृति चर्चित र प्रशंसित पनि उत्तिकै छन् । उहिल्यै उनले लेखेको ‘विदेशको यात्रा स्वदेशको सम्झना’ ले पङ्क्तिकारको मन–मस्तिष्कलाई प्रभावित पार्न सफल रहेको याद् झल्झली आइरहन्छ ।
यसैबीच उनको कृति ‘बौद्ध तीर्थयात्रा’ माथि मैले एक समीक्षा ‘समष्टि’ मासिकमा गरेको सन्दर्भ पनि यहाँ उल्लेखनीय हुन्छ । रेडियो अन्तर्वार्तामा गरिएका कुराकानी पनि अब त धमिलिँदै छन् । तर उनका अनुभूतिमाथिको अभिव्यक्ति सधैं ताजै रहिरहने छन् । अब अहिले उनीसँग म अमेरिका घुम्ने योजनामा छु ।
उनको कमलपोखरीस्थित निवासमा ‘यात्रा अमेरिकाको माया नेपालको’ र मेरो ‘अन्नपूर्णाका विम्बहरू’ नामक नियात्रा आदान–प्रदान भएको थियो केही वर्ष पहिल्यै । सस्नेह प्राप्त सो कृतिलाई एकसरो हेरेर थन्किएको समयपछि बल्ल अहिले केही धारणा पोख्ने धोको पूरा गर्दै छु । यस धोकोमा उनका अनुभूतिमा यात्रारत् मेरा धड्कनहरू अहिले शब्द–संयोजनका सिलसिलाहरूमा आबद्ध हुँदैछन् । म उनका कृतिमा रमाउँदै वाशिङ्टन, न्यूयोर्क, बोस्टन, नायगराफल्स, ओसनसिटी बाल्टिमोर र मेरिल्याण्ड भ्रमणमा निस्किएको छु ।
उनीसँगको भ्रमणमा साथ–साथै हिँड्नुको फाइदा के छ भने उनी यात्रामा तस्बिर पनि उतार्छन् । आफ्नै जन्मभूमिको सम्झना पनि गराउँछन् । आत्मीय सद्भावका विचारहरूका साथ जीवन र जगत्का सन्दर्भमाथि पनि विश्लेषण गराउँछन् । उनको अनुभूतिमा शब्दका मीठास भेटिन्छन् । स्वदेशको माया र विदेशको तुलना गर्दै प्रगतिका अनेक दस्तावेजहरू देखाउँछन् ।
अधिकांश नेपाली आज विदेशयात्रामा निस्किनुको प्रथम कारण पारिवारिक भेटघाट हो । आफ्ना सन्ततिहरूको प्रस्थाननपछि कैयौं नेपाली अभिभावकहरूले पनि विदेश पुग्ने, घुम्ने, डुल्ने र नयाँ अनुभूति ग्रहण गर्ने अवसर पाउँदै आएका छन् । यसरी घुम्ने र डुल्ने अनि भेटघाट गरी फर्किनेहरू धेरै छन् । तर उक्त घुमाइलाई सार्थक उपब्धिका रूपमा प्रस्तुत गर्ने नेपाली कम छन् । अधिकांशले घुम्नुको आनन्दपछि स्वदेश फर्किएर सबै कुरा विर्सिन्छन् । यद्यपि कमैले मात्र भ्रमणलाई लिपिबद्ध गरी विदेश नपुग्नेका लागि पनि कोसेली बाँड्दछन् । त्यही कोसेलीको रूपमा प्रसिद्ध नियात्राकार घनश्याम राजकर्णिकारको ‘यात्रा अमेरिकाको माया नेपालको’ नामक कृति लेखिएको हो ।
मेरो मन र आँखाले उनका उक्त कृति हेर्दा म आनन्दले विभोर भएको छु । हर्षले गद्गद् बनेको छु । अमेरिकाको अत्याधुनिक भव्यताको वर्णन यसमा सविस्तार गरिएको छ । संसारकै आकर्षणको केन्द्रविन्दु मानिने अमेरिकामा सेवा र सुविधा सबै छन् । त्यसैले त्यहाँ संसारकै मानिस ओइरिएका छन् । सारा अवसरहरू त्यहीँ छन् । अमेरिका भनेपछि मानिस मरिहत्ते नै गर्छन् । जीवनलाई नै ऋणमा डुबाएर अमेरिका भास्सिनेहरू छन् । तर त्यही अमेरिकामा सुखको संसार मात्र छैन । दुःखको पहाड पनि त्यत्तिकै डरलाग्दो छ ।
‘यात्रा अमेरिकाको माया नेपालको’ नामक नियात्रामा पारिवारिक भेटघाटका रमाइला क्षण जीवन्त छन् । भ्रमणका क्रममा देखिएका दृश्य र त्यसले पारेका प्रभाव उत्तिकै ज्ञानवद्र्धक पनि छन् । समीक्ष्य कृतिको पहिलो अध्यायमा अमेरिका पुग्नुअघिका अनेक झमेलाका बेलिविस्तार निकै चाखलाग्दो छ आफैं सचेत नहुँदा पाइने हण्डरले समय र पैसाको बर्बादी हुने निश्चित छ ।
यस यात्रा लेखनमा लेखक मूलतः आफ्नी प्रिय नातिनी हृदयषालाई भेट्न हत्तारिएका छन् । तिनलाई भेट्ने चाहनाका क्रम यति शक्तिशाली छ कि लेखक यहाँ विगतका स्मृति–विम्बमा हराउन पुग्छन् । सबैभन्दा चोखो र पवित्र प्रेमको भावना तथा बुढेसकालका असल साथी तिनै नातिनी भएको तथ्य तर्क उल्लेख गरेका छन् । नातिनीको हिस्सीपरेको अनुहार र चुलबुले बानी सम्झेर उनी कवि बन्छन् । त्यस्ती हृदयकी टुक्रा हृदयषालाई नभेटेको अढाइ वर्षभन्दा बढी भइसकेको छ । त्यस्ती नातिनी भेट्ने चौचौमा मनभित्र उत्पन्न खुशीका अनेक तरङ्गहरू कम चित्ताकर्षक छैनन् ।
त्यसपछिको अध्याय अमेरिका पदार्पण र वाशिङ्टन भ्रमणमा केन्द्रित छ । जस्तै– राजधानीको इतिहास, क्यापिटल हिल, सुप्रिम कोर्ट, लाइबे्ररी अफ कङ्ग्रेस, अमेरिकन इण्डियन म्युजियम, एयर एण्ड स्पेस म्युजियम, टोमस जेफर्सन मेमोरियल, ? जबेल्ट मेमोरियल, कोरियन वार मेमोरियल, लिङ्कन मेमोरियल, भियतनाम वार मेमोरियल, दोस्रो विश्वयुद्ध स्मारक, वाशिङ्टन मनुमेण्ट, फुटकोर्ट रेस्टुरेन्ट, नेशनल म्युजियम अफ अमेरिकन हिस्ट्री, नेशनल म्युजियम अफ नेचुरल हिस्ट्री, ह्वाइटहाउस, लिङ्कनको हत्या स्थल आदि अनेक स्थानका अनेकौं दर्शनीय स्थलमा आँखा र पाइला पु¥याएका अनुभूतिहरू समाविष्ट छन् ।
तेस्रो अध्याय न्युयोर्कको यात्रामा आधारित छ । यात्रु बसभित्रको शौचालयबाट सुरु भएको यात्रा–विवरण अमेरिकी हाइवे व्यवस्था, हर्न नबजाउने परम्परा, स्ट्याचु अफ लिभर्टीमा विताएका सम्झनाहरू आदि छन् । यात्रामा देखिएका दृश्यहरूले उनलाई नेपालको सम्झना गराउँछ । नेपालको प्रगतिमा चासो जाग्छ । बेला–बेलामा उनी आफ्ना पिताजी कृष्णबहादुर राजभण्डारीको सम्झना गर्न विर्सिर्दैनन् । तिनै कृष्णबहादुरले नेपालमा सर्वप्रथम नेपालीहरूलाई पाउरोटी र केकहरूको उत्पादन गरी खुवाएका थिए । विकास, प्रगति, सभ्यता, सुन्दरता र आफ्नोपनका धेरै व्याख्या न्युयोर्क यात्रामा गरिएको छ ।
यसपछि बोस्टनको भ्रमणमा पनि लेखकले पाठकलाई साथै घुमाउँछन् । प्राचीन भवन, भूमि, मूर्ति, विशाल शहर, सङ्ग्रहालय, समुन्द्र आदि डुलाउँछन् । त्यस्तै नायगराफल्सको यात्रा पनि त्यत्तिकै रोचक छ । पानीको प्रवाहलाई हेर्ने मानिसको भीड र त्यो सुन्दरता साह्रै स्मरणीय पल हुन् । अरू स्थान ओसनसिटी, बाल्टिमोर र मेरिल्याण्डका यात्रा–विवरणका सन्दर्भमाथिका कुराहरू पनि चाखलाग्दा छन् ।
पारिवारिक भेटघाटमा जाँदा गरिएका अनुभव र सँगालिएका अनुभूतिहरूलाई शब्दका सुन्दर अभिव्यक्तिमा पोखेर नियात्राको भण्डारमा गहकिलो
उपहार दिने नियात्राकार घनश्यामको प्रशंसा जति गरे पनि थोरै हुन्छ । अघिल्लो कृतिभन्दा पछिल्लो यस कृतिले उनको लेखकीय साधनालाई समृद्ध बनाउँदै ल्याएको अनुभव गर्न सकिन्छ । नितान्त व्यक्तिगत भ्रमण भए तापनि नेपाली नियात्रा साहित्यमा ठूलो उपलब्धिका रूपमा यसलाई लिन सकिन्छ । यसका साथै सार्वजनिक र सामूहिक उपलब्धिका दृष्टिले पनि यो कृतिलाई ग्रहण र सोही रूपमा मूल्याङ्कन गर्न सकिन्छ ।
