
डा.अनन्त अधिकारी
चरी उवाच,
ए मान्छे!
साझा धर्तीमा
किन लगायौ
राहदानीका बन्धनहरू
आफ्नै निम्तिरु
सायद ढक-तुलोले धेरै बताउँछ
वजन तिम्रो मस्तिष्कको,
र त कतै छोपेर
कतै उधिनेर साँध-सीमा कोर्यौ
आमाको छातीमा।
थाह छ, के मा प्रयोग गर्यौ
तिम्रो मथिंगल ?
मान्छेले मान्छेकै निम्ति
गर्नुपर्ने थुप्रै छोडेर
नगर्नुपर्ने गर्यौ,
टुक्राटुक्रा बनायौ
आफ्नै संसार
रच्यौ विभेद
मान्छे र मान्छेहरूमा
मान्छे र साझा धर्तीका
सम्पूर्ण जीवहरूमा।
भो, खोलिदेऊ!
कृत्रिम सिमानाका कन्दनीहरू,
फालिदेऊ जीवत्वप्रतिको विभेद,
हुत्याइदेऊ ढोगी पर्दाहरू
छोपेर नछोपिने लाजहरूमा बेरिएका,
फालिदेऊ कुरूप लगौटीहरू!
लाज त तिमी जो हौ
ठूलो मस्तिष्कमा सानो मनको मान्छे,
बाहिरको समस्त जग-जीवनका निम्ति।
आऊ, तिम्रो अहङ्कारको कुवा तोडेर
समाहित हौं एउटै साम्राज्यमा जीवनको,
गाउन सिक पुनः हामीसँगै
शरद र वसन्तका गीतहरू
अनि हेर, जीवन कति रङ्गीन छ!
उनेर हेर सहअस्तित्वको माला,
गर यात्रा धर्तीमा बेलगाम
अनि प्रतिप्रश्न गर मलाई—
‘ए चरी!
मस्तिष्कको वजनले
बुद्धिको मापन गर्न नमिल्ने
कुनै दफा छ कि छैन
वैश्विक अस्तित्वको
अलिखित कानुनमा?’

