
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
क्यान्सरबाट पीडित उनको उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालमा बुधबार साँझ निधन भएको हो ।
उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।बस्नेत २०४८ को आमनिर्वाचनमा सङ्खुवासभा–२ र २०५६ मा भोजपुर–१ बाट निर्वाचित भएका थिए ।
बस्नेतले करिब १६ वर्ष तीन महिना जेल जीवन बिताएका थिए । त्यस अवधिमा चार दिनबाहेक उनी लगातार जेलमै रहेका थिए । २०३३ चैत १२ मा झापाका राजनीतिक बन्दीहरूले नख्खु जेल तोडेर बाहिरिने योजना बनाएका थिए । बस्नेत पनि त्यस अभियानमा सहभागी थिए ।पञ्चायती व्यवस्थाविरुद्धको संघर्षदेखि प्रतिनिधिसभा सदस्य र पार्टी नेतृत्वसम्म उनले लामो राजनीतिक जीवन बिताएका थिए।

