
काठमाडौँ । भारत जापानमा जारी २०औँ एसियाली खेलकुदमा क्रिकेटमा फाइनलमा प्रवेश गरेको छ । योसँगै भारतले उपाधि अर्थात् स्वर्णपदकका निम्ति चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्ने तय भएको छ ।
बिहीबार दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकालाई १२४ रनले पराजित गर्यो । जापानको कोरोगी स्पोर्ट्स् पार्कमा भारतले प्रस्तुत गरेको १७० रनको लक्ष्य पछ्याएको श्रीलंकाले ९.५ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र जोड्न सक्यो ।
श्रीलंकालाई सस्तैमा रोक्न भारतका जसप्रीत बुम्राह, अक्षर पटेल र अभिषेक शर्माले समान दुई विकेट लिए । वासिंग्टन सुन्दरले एक विकेट लिए ।
श्रीलंकाका नुवानाइदु फर्नान्डोले १५ रन बनाए । उनीबाहेक अरू कोही पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६९ रन बनाएको थियो ।
भारतका निम्ति अविजित रहेका इशान किसनले ८० रनको अर्धशतकीय पारी खेले । उनले ४६ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । ओपनर वैभव सूर्यभन्सीले तीन र कप्तान श्रेयस ऐयरले १३ रन बनाए ।
श्रीलंकाका थरिन्दु रथनायके, सहान आरचिगेले समान दुई विकेट लिए । वनुजा सहन, लासिथ क्रोसपुले र नुवानाइदु फर्नान्डोले समान एक विकेट लिए ।
भारत र पाकिस्तानबीचको फाइनल खेल यही अक्टोबर ३ मा हुनेछ । पाकिस्तानले आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

