
काठमाडौँ। नेपाली लोकबाजा सङ्ग्रहालयको आयोजनामा सम्पन्न पन्ध्रौँ लोकसङ्गीत सत्सङ्ग तथा म्युजिकल ज्यामिङ कार्यक्रम लोकगीत, लोकबाजा र सांस्कृतिक प्रस्तुतिद्धारा भव्य रूपमा सम्पन्न भएको छ।
नेपाली लोकसङ्गीतको संरक्षण, अनुसन्धान, अभिलेखीकरण तथा नयाँ पुस्तामाझ यसको पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वरिष्ठ लोकगायक तथा लोकसङ्गीत अनुसन्धानकर्ता डा. आशबहादुर तामाङ प्रमुख अतिथि तथा अतिथि कलाकारका रूपमा सहभागी भएका थिए।
उनले नेपाली लोकगीतको मौलिकता, परम्परा र सामाजिक–सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै विभिन्न लोकगीत प्रस्तुत गरेका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा डा। तामाङले आफ्नी आमा धनमाया तामाङले गाउनुभएको चर्चित लोकगीत ‘नरोई नरोई बस माया, जाने बेला भयो बरी लै’ को धुन पात बजाएर प्रस्तुतगरी उपस्थित दर्शक तथा लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध बनाए ।
सरिता प्रजापतीले सुनिल चित्रकारको सङ्कलनमा रहेको ‘रेलै घुमेर’ लोकगीत प्रस्तुत गरिन । अन्जान बाबु शर्माले ‘चरी लैजा समाचार’, रोशन दाहालले नारायण गोपालको चर्चित गीत ‘हे मलाई माया गर्छु भन्ने हजुर !!’ प्रस्तुत गरे ।
लोकसङ्गीतको संरक्षण र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय रामगोपाल कार्की, कुमारी योङहाङ लिम्बू लगायतका कलाकार तथा स्रष्टाहरूको सहभागिता र प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। विभिन्न पुस्ता र पृष्ठभूमिका कलाकारहरूको सामूहिक सहभागिताले लोकसङ्गीत केवल विगतको सांस्कृतिक विरासत नभई वर्तमान पुस्तासँग निरन्तर जोडिँदै गएको जीवित परम्परा भएको सन्देशसमेत दिएको थियो।
नेपाली लोकबाजा सङ्ग्रहालय, लक्ष्मेश्वर महादेव मन्दिर, गीता गृह मार्ग, कालोपुल, टेकुमा सम्पन्न कार्यक्रममा लोकसङ्गीतप्रेमी, कलाकार, अनुसन्धानकर्ता, संस्कृतिकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पन्ध्रौँ संस्करणसम्म आइपुग्दा लोकसङ्गीत सत्सङ्ग तथा म्युजिकल ज्यामिङले कलाकार, अनुसन्धानकर्ता र सङ्गीतप्रेमीबीच संवाद तथा सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा समेत आफ्नो पहिचान स्थापित गरेको छ।
नेपाली लोकबाजा सङ्ग्रहालयका संयोजक रामप्रसाद कडेलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन ओम भण्डारीले गरे।


