
काठमाडौं ।साहित्यिक पत्रकार संघको ५५ औँ वार्षिकोत्सवका अवसरमा पाँचजना सर्जकहरूलाई सापस विशिष्ट सर्जक सम्मानद्वारा सम्मानित भएका छन् ।
यसरी सम्मानित हुनेहरूमा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा. मदन चित्रकार, कवि ज्ञान उदास चैत्यदेवी सिंह र सन्तोष पन्त रहेका छन्।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्य रहेका थिए।
व्यथित काव्य डायस्पोरा सम्मान २०८२ दीपा राई पुन (अमेरिका)लाई समर्पण गरिएको थियो।
प्रमुख अतिथि कर्माचार्यले अभिनन्दित व्यक्तित्वहरू कोही आफ्नो बालसखा रहेको र कोही पर्दा मार्फत् चिनेको बताए। साहित्यिक पत्रकार संघले यसरी स्रष्टाहरूको चयन गरेर सम्मान तथा अभिनन्दन गर्ने गरेकोमा प्रशंसा गरेका थिए ।
संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यमाथि संक्षेपमा प्रकाश पारेका थिए। संस्थापक अध्यक्ष भवानी घिमिरेको स्मरण गर्दै उनले २०३८ सालदेखि कथा दिवस मनाउँदै आएको, २०६४ सालसम्म गाईजात्रा कार्यक्रमको आयोजना गरेको, हालसम्म धेरैजना स्रष्टाहरूको सम्मान, अभिनन्दन गरेको र हाल स्रष्टाहरूका कृतिहरूलाई अडियोमा ल्याउन थालेको बताए।
समालोचक प्रमोद प्रधानद्वारा अभिनन्दित व्यक्तित्वहरूको संक्षिप्त परिचय दिइएको थियो ।
अभिनन्दित व्यक्तित्वहरूले पनि आ-आफ्नो मन्तव्य राखेका थिए।
मन्तव्यका क्रममा कवि ज्ञान उदासले आफ्नो दुइटा मुक्तक वाचन गरेर सुनाएका थिए।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, कलाकार मदनदास श्रेष्ठ तथा इतिहासविद् प्रा.डा.सुरेन्द्र केसीले शुभकामना मन्तव्य राखेका थिए।
राजधानीमा भएको कार्यक्रममा संघकी कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन तथा कार्यक्रमको सहजीकरण साहित्यकार सविता श्रेष्ठ ‘बेहोसी’ले गरेकी थिइन्।
