
एमालेको जागरण सभा : मुलुक र जनताको पक्षमा
होम प्रसाद चौंलागाँईं
नेपालको गणतन्त्र यहाँका कम्युनिष्टहरुको आधा शताब्दीभन्दा अधिक समयको बलिदान, योगदान र संघर्षको फल हो । देशका प्रमुख राजनीतिक शक्तिहरुमध्ये नेकपा एमालेले जनताको बहुदलीय जनवादको बाटो अंगीकार गरेदेखि नै शान्तिपूर्ण आन्दोलनमार्फत गणतन्त्र प्राप्तिको मार्गमा संघर्ष गरिरह्यो । पार्टी विधानमै संवैधानिक राजतन्त्र उल्लेख गरेको नेपाली कांग्रेसलाई एमालेले गणतन्त्र प्राप्तिको आन्दोलनमा होमिन प्रोत्साहित ग¥यो र त्यो सफल हुन पुग्योे । हतियारसहितको जनविद्रोहबाट गणतन्त्र प्राप्त गर्ने सशस्त्र युद्धमा होमिएको नेकपा माओवादीलाई पनि एमालेले शान्तिपूर्ण आन्दोलनबाट गणतन्त्र प्राप्त गर्ने मार्गमा सहमत गरायो र मुख्य यी दलको सहभागितामा ७ दलको २०६२ र ०६३ सालको शान्तिपूर्ण आन्दोलनबाट नेपालमा गणतन्त्र प्राप्त भयो ।
नेपालमा गणतन्त्र प्राप्तिमात्र शान्तिपूर्ण भएन, राजाको बहिगर्मन, व्यवस्थापन र हेरचाहसमेत शान्तिपूर्ण भयो । राजालाई काटेर गणतन्त्र स्थापना भएका कैयौं मुलुक भएको विश्वको लागि बुद्धभूमिमा भएको यो शान्तिपूर्ण क्रान्ति दुर्लभ घटनामध्ये एक हो । त्यतिमात्र हैन, गणतान्त्रिक व्यवस्थामा पनि पूर्वराजालाई निरन्तर राजकीय सम्मान र सुविधा उपलब्ध गराइरहनु नेपालीमा भएको मेलमिलापको अर्को मौलिक र नमुनायोग्य गुण थियो ।
यसरी नेकपा एमाले गणतन्त्रवादी शक्तिमात्र नभएर यसको मियोसमेत भएकाले गणतन्त्र उसका लागि अति प्रिय र आधारभूत मान्यता हुने कुरामा संशय गर्ने कुरै भएन । यद्यपि नेपालको गणतन्त्र संस्थागत गर्न एमालेकै जोडबल र नेतृत्वमा नेपालको संविधान २०७२ घोषणा हुँदा नेपालको शासकीय प्रणालीमा पूरक स्वरुपका रुपमा आएको संघीयता र धर्म निरपेक्षताका विषयमा एमालेमा व्यापक छलफल भएन । संविधान घोषणाको बेलाको राजनीतिक शक्ति सन्तुलनको उपजका रुपमा एमालेले यसलाई स्वीकार गरेको देखिन्छ । यी विषय एमालेका लागि प्रयोगात्मक विषय हुनसक्छ र यसको बारेमा एमालेले उपयुक्त समयमा समीक्षा र आवश्यक निर्णय लिनु पर्ने हुन्छ । । गणतन्त्र एमालेको आधारभूत राजनीतिक धरातल भएकाले पार्टीले नेपालको गणतन्त्रको निरन्तरता र सुदृढीकरणमा आफूलाई सम्पूर्ण रुपमा होम्नुपर्छ र होमिँदै आएको छ । यसरी हेर्दा नेपालको गणतन्त्रमा हाल गणतन्त्रविरोधीहरुको एकताबद्ध प्रतिरोध र गणतन्त्रवादीहरुको चरित्र र संस्कार गरी दुइखाले समस्या रहेको देखिन्छ ।
यस्तो अवस्थामा एमालेले एक्लैले भए पनि आफ्नो बलिदानीपूर्ण योगदान भएको गणतन्त्र बचाउन प्रतिगामीहरुको मुकाबिला गर्नैपर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ गणतान्त्रिक व्यवस्थामा सम्भव छ र यसमा मात्रै सम्भव छ । २०० वर्षभन्दा बढी विभिन्न भूमिकामा सक्रिय राजतन्त्र कालमा सारा नेपालीको साझा आकांक्षा ‘समृद्ध नेपाल’ सम्भव नभएको कटु यथार्थ बिर्सेर ८ वर्षको कलिलो गणतन्त्र कालमा समृद्ध नेपाल पूरा भएन भनेर फेरि पछाडि फर्कने कुरा समस्याको समाधानका रुपमा आत्महत्या रोज्नु जस्तै हो । यद्यपि गणतन्त्रलाई संस्थागत गर्न र यसको माध्यमबाट समृद्धि प्राप्त गर्न गणतन्त्रवादीमा लागेका फोहोरहरु सफा गर्नु उत्तिकै आवश्यक छ । शासन व्यवस्था लोकतान्त्रिक गणतन्त्र भए पनि हाम्रो चरित्र लोकतान्त्रिक र सहिष्णु हुन सकेको छैन । हाम्रो कामको क्षेत्र विशाल हुन सकेको छैन । हाम्रो सोच उच्च हुन सकेको छैन । हाम्रो दायरा फराकिलो हुन सकेको छैन । हामीलाई आदतको शक्तिले निरन्तर रुपमा सानो घेरामा घेराबन्दी बनाइरहेको छ । समृद्ध नेपालको संकल्प बोकेका हामीले यसलाई सामूहिक बलमा तोड्नुपर्छ । सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि यो घेराबन्दीबाट हामी बाहिर निस्कन सक्नुपर्छ ।
यतिबेला देशमा आम निराशा व्याप्त छ । शासन चलाउने पार्टी र व्यक्ति जनताको बलमा जारी संविधानको मर्म र शान्तिपूर्ण जनक्रान्तिको माध्यमबाट व्यक्त जनताको आकांक्षाबाट निकै टाढा बन्दैछन् । नेपाली जनताको समृद्धिको सपना पूरा गर्ने तिव्र इच्छाको अवरोध शासकहरु हुन् । विद्यमान शासकीय प्रणाली हैन । यो प्रणालीका शासक भनेका आवधिक हुन् र अस्थायी हुन् । यही सुन्दर शासकीय प्रणालीभित्रै रहेर सेवकीय भावना भएको शासक खोज्न सकिन्छ र छानिएका शासकलाई ठीक पार्न सकिन्छ भन्ने कुरा जनतालाई बुझाउन विलम्ब गर्नु हुँदैन ।
राजनीतिक अस्थिरताले उद्यमी व्यवसायीको मनोबल कमजोर छ । व्यवसाय बिग्रेर भागमभाग छ । बैंक खर्बौं पैसा थुप्रेर बसेको छ । व्यवसायीहरुले ऋण लिएर लगानी गर्ने त के, यसको कल्पना गर्नसमेत हिम्मत गर्न सकेका छैनन् । बेरोजगारी समस्या बढेर सगरमाथाको टुप्पोमा पुगेको छ । हरेक दिन विमानस्थलमा विदेशिने नेपालीको भीड लाग्छ । नेपाली विश्वविद्यालय र कलेजहरु खाली हुनेगरी विद्यार्थीहरु विदेशिन थालेका छन् । यसै सन्दर्भमानेकपा एमालेले आज अर्थात मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्दैछ । सरकारले गरेका काम कारबाहीबारे जनतामा जानकारी गराउन र नागरिकमा आशा जगाउनका लागि मंसिर ७ गते काठमाडौंमा एमालेले १ लाख भन्दा धेरै कार्यकर्ता उतार्न लागेको हो ।
एमालेले जागरण सभाका लागि बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईको नेतृत्वमा समितिसमेत बनाएको छ । डा भट्टराईले एमालेले जागरण सभा किन गर्दैछ भनेर विज्ञप्तिमार्फत जानकारी गराएका छन् । नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरू सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको छ । विधिको शासनविपरीत विभिन्न स्वार्थ समूह र व्यक्तिका नाममा अस्थिरता र अराजकता सिर्जना गरी स्थापित लोकतान्त्रिक विधि, पद्धति, सुशासनका पक्षमा भएका न्यायिक छानविन, अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई आआफ्ना पक्षमा पार्ने धुमिल कोसिस भइरहेका छन् । सामान्य ढंगले विरोध गरेझै गर्ने र व्यवस्थाका विरूद्ध नै धावा बोल्ने दुश्प्रयत्न भइरहेको वर्तमान सन्दर्भमा जनताका बीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरूरी भएकोले आगामी मंसिर ७ गते नेकपा एमाले काठमाडौं, पेसागत ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा जनजागरण सभाको आयोजना गर्न लागिएको हो ।
यसरी हेर्दा जागरण सभा गर्नुको पहिलो उदेश्य राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्नु हो । त्यस्तै गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न एमालेले जागरण सभा गर्न लागेको हो ।
वर्तमान संयुक्त सरकारले गरेका काम उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न र सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन तथा आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न पनि एमालेले जागरण सभा गर्न लागेको हो ।








