कविता सुषमा आचार्य ‘अंशु’
के को हतार,साथी ?
दिन आउन,बिहान काट्नैपर्छ
रात पर्न,साझ पर्खनै पर्छ
जुनको उज्यालो हेर्न
कृष्णपक्षका काला रातहरु
गुजारेर शुक्लपक्ष कुर्नैपर्छ
त के को हतार,साथी ?
ताराहरु चम्कन पनि त
घाम अस्ताउनु नै पर्छ।
उदाउन सुर्य,क्षितिजले स्वागतमा
सुनौला रङले पोतिनुपर्छ
टल्कन हिमाल,घामका
किरणले चुम्नुपर्छ
रसाउन धरती,
बर्षा पोखिनुपर्छ
त के को हतार साथी ?
आकाश खुल्न पनि त
बादल हराउनुपर्छ ।
नाच्न डाँफे,मुनाल र मयुर
सजिन बनपाखा फुलहरुले,
बसन्त आउनुपर्छ
प्रकृति मुस्कुराउनु पर्छ
त के को हतार,साथी?
फल फल्न पनि त
फुलले आत्मसमर्पण गर्नैपर्छ।
उम्रन बिरुवा,
प्रकाश, हावा, पानीको
तालमेल मिल्नुपर्छ
नदि बग्न, बहावको
गतितिर झुल्नुपर्छ
त के को हतार, साथी ?
पालुवा पलाउन पनि त
हिउँदमा पात झर्नैपर्छ।
(यो कविता सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको ठमेल काव्य गोष्ठीमा वाचन गरिएको हो।)