
काठमाडौँ । हरेक महिनाको अन्तिम शुक्रबार वाचन गरिँदै आइएको ‘मासिक कथावाचन’ कार्यक्रममा यसपटक पनि विभिन्न कथाकारहरूले आफ्ना कथा वाचन गरे ।
कथा पुनर्जागरण अभियानअन्तर्गत सुरु भएको कथावाचनमा यसपटक दिवंगत कथाकार बालकृष्ण समको कथा ‘पराइघर’ वाचन गरियो । तत्कालीन साहित्यिक पत्रिका शारदा मासिकको वर्ष १ अंक ६ ९वि।सं। १९९२० बाट लिइएको उक्त कथा साहित्यकार शैलेन्द्र साकारले वाचन गरे ।
त्यसपछि कथाकारद्वय गोविन्द गिरी प्रेरणा र माया ठकुरीले चालिसको दशकमा प्रकाशित आफ्ना कथा वाचन गरे । कथाकार प्रेरणाले २०४४ मा प्रकाशित कथा ‘यात्रा स् अनन्त’ र २०५३ मा प्रकाशित कथा ‘निगार’ वाचन गरे ।
त्यस्तै कथाकार माया ठकुरीले २०४८ सालमा प्रकाशित कथा ‘पचास वर्षपछि’ वाचन गरिन् ।
कार्यक्रमको प्रारम्भमा अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले यस अभियानले पुराना तथा नयाँ पुस्ताका कथाकारहरूलाई कथाका माध्यमबाट जोड्ने काम गरेको बताए ।
उक्तअवसरमा अर्का परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथा साहित्यमा पुनर्जागरण ल्याउने उद्देश्यका साथ यस किसिमको अभियान थालेको बताए ।
