
हेटौंडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
उनले आगामी आर्थिक वर्षमा चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात ३४ दशमलव ३१ प्रतिशत र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ अर्थात ६५ दशमलव ६९ प्रतिशत विनियोजन गरिएको जानकारी दिए ।
बजेट कार्यान्वयनका लागि खर्च व्यहोर्ने स्रोततर्फ राजस्व बाँडफाँडबाट प्राप्त हुने राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख, अन्य राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड, संघीय सरकारबाट अनुदानबापत १५ अर्ब ३१ करोड प्राप्त हुने अनुमान रहेको उनले बताए ।
त्यस्तै, मन्त्री तामाङले सञ्चित कोष बचत विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख र अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट ९६ करोड प्राप्त हुने अनुमान गरिएको उनले बताए ।