
काठमाडौँ।अग्रज कवि राजेश ढुंगानाको नविनतम् कवितासङ्ग्रह ‘मुटु फलामको भएर’ को लोकार्पण भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे,कृष्ण धारावासी,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ रोदन,पवन आलोक,कवि ढुंगाना दम्पति लगायतले कृति लोकार्पण गरे ।
प्रमुख अतिथि वरिष्ट साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले कृतिकारलाई बधाईँ दिँदै पुराना दिनहरु स्मरण गरे । उनले भने, ‘हराएको कविले फेरी सिर्जना लिएर आएकोमा खुशी छु । उहाँले हिजोको प्रजातान्त्रिक आन्दोलनको पक्षमा समसामयिक विषयमा लेखहरु निरन्तर लेखेर योगदान गर्नुभएको थियो ।’
प्रा.डा.गौतमले कवि ढुंगानामा मितव्ययी भाषामा गहिरो कुरा भन्न सक्ने सामाथ्र्य भएका कविको रुपमा आफुले पाएको बताए । कवि विन्दास स्वभावका रहेकोमा उनले जोड दिए ।
‘उहाँको कविता वेदका मन्त्र पढेजस्तै छन्,जसले व्याख्या गर्दैनन्,संकेत मात्र गर्छन् । कविताको मूल स्वर बिद्रोह र असन्तुष्टीतर्फ सुनिन्छन् । कतै कवि प्रेम बोल्छन् ।’ प्रा.डा.गौतमले भने । कोमल तत्व र कठोर तत्व दुबै उत्तिक्कै कवितामा पाएको भन्दै उनले भने,’मृत्यूचिन्तन,प्रेमचिन्तन,देश चिन्तन,समय चिन्तन र आफैँमाथि चिन्तन गरेर कविता सिर्जना भएका छन्।’ कवितामा सरल बिम्व भैकन पनि गहिरा भाव अभिव्यक्त गर्ने सामाथ्र्यका भएकामा प्रा.डा.गौतमले जोड दिए ।
साहित्यकार धारावासीले राजेशसंग विताएका बाल्यकालीन दिनहरु समेत स्मरण गरे । उनले भाँचिन तयार हुने तर ननिहुरिने प्रजातान्त्रिक चेत बोकेका कविको रुपमा ढुंगानाको व्यक्तित्वको चर्चा गरे ।
‘काठमाडौँको साहित्य र पत्रकारितामा पनि उहाँको भुमिका छ । उहाँ मुक्तक,गीत र कविता सशक्त ढंगले लेख्न सक्ने क्षमताबान कवि हो ।’ धारावासीले भने ।
कार्यक्रममा समाजका संरक्षक पवन आलोक,कवि पत्नि मीना ढुंगाना समेतले शुभकामना मन्तव्य राखे ।
सार्वजनिक कृतिबाट सुधा शर्मा,राजेश खनाल लगायतले कविता बाचन गरे ।

नेपाल स्रष्टा समाज केन्द्रीय समितिद्धारा आयोजित कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले छोटा कवितामा पनि शक्ति हुन्छ भन्ने कुरा राजेशका कविताले पुष्टि गरेको बताए । उनले वर्तमान समयमा नेपाली साहित्यक्षेत्रमा देखिएका विकृतिप्रति लक्षित गर्दै भने,’पुरस्कार र सम्मानको नाउँमा अस्वस्थ्य प्रतिष्पर्धा देखिएको छ । यो हुनु राम्रो संकेत होइन् ।’
मधु पाठकको सञ्चालनमा भएको उक्त कार्यक्रममा तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन् ।

