
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट महोत्सव शनिबारदेखि सुरु भएको छ । पोखरा रङ्गशालामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख आचार्यले बालबालिकामा सानै उमेरदेखि खेलकुद गतिविधिमा सक्रिय सहभागिता गराउन सके मात्र खेल जीवनको बलियो आधार तयार हुने बताए । उनले सफल खेल जीवनको जग बाल्यकालदेखि निरन्तर अभ्यास र सहभागिताबाट बन्ने उल्लेख गर्दै पोखरा महानगरपालिकाले सबै उमेर समूहलाई लक्षित गरेर विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । खेलकुदलाई उहाँले शारीरिक तन्दुरुस्ती मात्र नभई स्वास्थ्य, सामूहिक भावना र सामाजिक एकताको माध्यमका रूपमा व्याख्या गरे ।
महोत्सव असार २ गतेसम्म सञ्चालन हुने छ । यस अवधिमा कराँते, जुडो, टेबल टेनिस, साइक्लिङ, जिम्न्यास्टिक, हक्की, ह्विलचियर बास्केटबल, बोसिया, दृष्टिविहीन क्रिकेट र बौद्धिक अपाङ्गता दौड लगायतका प्रतियोगिता हुने खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।
समितिका सचिव बज्र अधिकारीका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, समुन्नत पोखराका लागि खेलकुद’ भन्ने नारासहित सुरु भएको महोत्सवमा सयौँ खेलाडीहरूको सहभागिता रहेको छ ।







